|

जंग तामाङ-

    पाँचथर : पाँचथरको एक्ली महिला वडाध्यक्ष बिना थाम्सुहाङ सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्न व्यस्त छिन्। निर्वाचन प्रचारको क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उनले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका वडा नम्बर-१० को घरघरमा पुगेर वितरण गर्दै आएकी हुन्।

    फिदिम नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको भए पनि जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरुको सदरमुकाम फिदिम आउँदा जाँदा सवारी भाडा नै ८ सय लाग्ने भएकाले सो नीति अव्यवहारिक भन्दै वडाध्यक्ष थाम्सुहाङले घरघरमै पुगेर भत्ता वितरण गरेको बताइन्।

    निर्वाचनको प्रचारको क्रममा व्यक्त गरिएको प्रतिवद्धतालाई अक्षरशः पालना गर्न र जनताको सेवकको रुपमा निर्वाचित भएकाले भत्ता वितरण घरमै गरेको उल्लेख गरिन्। ‘भनेको त पूरा गर्नुपर्‍यो। गरिनँ भने जनताले के भन्छन्?’ उनले भनिन्, ‘निर्वाचित भएपछि सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको घरदैलोमा पुग्दै छु।’ सो वडामा जेष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरु गरी २ सय ९० जनाले सामाजिक सुरक्षा पाउँदै आएको वडा कार्यालयले जनाएको छ।

    चालु आर्थिक वर्ष ०७४/०७५ मा सो वडामा सामाजिक सुरक्षा भत्ताका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वडाका सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको घरदैलोमा पुगेर ५ वर्षसम्म भत्ता वितरण गरिने पनि वडाध्यक्ष थाम्सुहाङको प्रतिबद्धता छ।

    यसैबीच, सामाजिक सुरक्षा भत्ता गाउँघरमै वितरण गर्न वडाध्यक्षसहित वडा सचिव लगायतको टोली नै आएपछि सोही वडाको चिलिङदेनका जेष्ठ नागरिक लक्ष्मी बुढाथोकी खुसी भएका छन्। ‘बिनाले योभन्दा राम्रो गर्ने ठाउँ छैन। हामीलाई फिदिम आउँदा जाँदा खर्च हुन्छ।’ उनले भने, ‘हामी १० नम्बरवासी खुसी छौँ।’ उनी जस्तै सोही ठाउँका अर्का जेष्ठ नागरिक शर्ण मगरान्ती पनि वडाध्यक्ष सहितको टोली नै घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न आएपछि खुसी छन्।

    उनले निर्वाचित जनप्रतिनीधिहरु साँच्चिकै जनताको सेवक भएको बताए। साविकको याङनाम गाविसको वडा नम्बर १ देखि ५ नम्बर वडासम्मका वडाहरुलाई मिलाएर फिदिम नगरपालिकाको १० नम्बर वडा बनाइएको छ।

    सो वडामा १४ असारमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार मणि थाम्सुहाङलाई झिनो मतान्तरले पराजित गर्दै वडाध्यक्षमा उनी विजयी भएकी हुन्। जिल्लाको ८ स्थानीय तहको ६० वडामा उनी मात्रै एक्ली महिला वडाध्यक्षको रुपमा निर्वाचिन हुन सफल भइन्।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.