गोरखा : जिल्लाको पालुङटार नगरपालिका ५ को भवानी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको नमुना शैक्षिक संस्था निर्माणका लागि आइतबारदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त महोत्सव असोज २९ गतेसम्म चल्नेछ। महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शहरीकरणसँगै शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा जोड दिनुपर्ने बताइन्।
पालुङटालाई सरकारले पनि स्मार्ट सिटी बनाउन लागेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘जनसमुदायको ठूलो उमंगका साथ शैक्षिक, आर्थिक र पूर्वाधार विकासमा अगाडि बढ्नु खुसीको कुरा हो। गाउँ र नगरको विकासले देश विकास हुने भएकोले त्यसको लागि यस नगरले सुरु गरेकोमा खुसी छु।’
मौलिक अधिकारको रुपमा रहेको शिक्षा पहुँच सबैमा पुर्याई गुणस्तरीय, रोजगारमूलक र प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन्।
उनले संघ र प्रदेशको चुनावले राज्यको आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरिनन्। ‘भर्खरै स्थानीय तहको चुनाव उल्लासमय वातारणमा सम्पन्न भएको छ’ उनले भनिन्, ‘निकट भविष्यमा हुने संघ र प्रदेशको चुनाव यसरी नै सम्पन्न भई दिगो आर्थिक विकास र समृद्धि हासिल गर्न सफल हुने मेरो विश्वास छ।’
विकासको पर्खाल होइन पुल बनाऔं : बाबुराम भट्टराई
शैक्षिक तथा धार्मिक महोत्सवका विशेष अतिथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकासको पर्खाल भत्काएर पुल बनाउनुपर्ने धारणा राखे। ‘समाजमा रहेका आर्थिक, सामाजिक र राजनीतिक पर्खालहरु भत्काउनु पर्ने बेला आएको छ’ उनले भने ‘एक अर्का जोड्न पुल बनाउनुपर्ने बेला हामी पर्खालहरु बनाएर बसेका छौं।’
अहिले भएको बाम गठबन्धनको विषयमा सञ्चारकर्मीहरु सँगै कुरा गर्दै भट्टराइले यो नयाँशक्ति निर्माणकै काम भएको बताए। ‘सबै हामी नयाँ ढंगबाट जान तयार भयौँ’ उनले भने, ‘चुनावमा तालमेल गर्ने, सम्भव भएसम्म एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने तयारीमा छौं। यो सकरात्मक छ। यो नयाँशक्तिको नयाँ रुप हो।’
पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पालुङटार हुँदै गोरखा र सिंगो नेपालको विकासका लागि भवानी बहुमुखी क्याम्पसको शैक्षिक तथा धार्मिक महोत्सवले सहयोग गर्ने बताए।
उक्त महोत्सवमा सांसद कमला पन्त, पूर्वमन्त्री बाचस्पति देवकोटा, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतार, पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेल लगायत पनि सहभागी थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।