|

संखुवासभा : अलैंचीको मूल्यमा आएको गिरावटले जिल्लाका किसान चिन्तित बनेका छन्। अलैंचीबाट राम्रो आम्दानी गर्दै आएका किसान गत बर्षदेखि भाउ घट्न थालेपछि चिन्तित बनेका हुन्। गत वर्षको सुरुमा सरदर प्रतिमन ९० हजारदेखि एक लाख रुपैयाँमा बिक्री भएको अलैंची यो वर्ष प्रतिमन ३० देखि ३५ हजार रुपैयाँमा पनि बिक्री हुन गाह्रो भएको अलैंची व्यवसायी संघका अध्यक्ष छत्रमणि काफ्लेले बताए। किसानले अलैंचीको दाना भट्टीमा सुकाएर तयारी अवस्थामा भण्डारण गरेर राखे पनि हालसम्म संकलक र ठेकेदार खरिद गर्न आएका छैनन्।

बेंसी क्षेत्रमा भदौ अन्तिमदेखि नै अलैंची टिप्ने गरिन्छ भने लेक क्षेत्रमा कात्तिक अन्तिमतिर टिप्ने गरिन्छ। बेच्न आफैं शहर लैजाने गरेका किसानले पनि यसपल्ट भाउ नभएकाले अलैंची थन्क्याएर बसेका छन्। ‘अहिले अलैंचीको भाउ घटेर मनको ३० हजारदेखि ३५ हजार रुपैयाँमा झरेको छ, तर किसानले त्यतिमा पनि बिक्री गर्न पाएका छैनन्’ अध्यक्ष काफ्लेले भने, ‘घरैमा आइपुग्ने ठेकेदार अहिलेसम्म अलैंची खरिद गर्न आएका छैनन्।’

नक्कली अलैंचीको हल्लाको असरले जिल्लाका सक्कली अलैंचीको भाउ घटाएको किसानको गुनासो छ। बेंसी क्षेत्रमा अलैंची टिप्ने र सुकाउने काम सकिए पनि बजार भाउ नभएकै कारण अधिकांश नयाँ अलैंची बजारसम्म पुग्न सकेको छैन। पछिल्लो समय अलैंचीको आम्दानीले लोभिएका किसान यसपल्ट भाउ नपाउँदा निराश छन्।

मूल्यमा आएको गिरावटले किसान भन्दा अलैंची संकलक समस्यामा परेको व्यवसायी सुवास कालाखेतीले बताए। ‘किसानलाई चिन्ता छैन, यसपल्ट बिक्री नभए अर्कोपल्ट बिक्री हुन्छ, कालाखेतीले भने, ‘तर ऋण लिएर अलैंची संकलन गरेर नाफा कमाउँदै आएका संकलक साँच्चिकै समस्यामा परेका छन्।’ तत्कालका लागि बिक्री नभएको अलैंची अर्को पटक बिक्री हुने भएकाले किसानले हार खानुपर्ने अवस्था नभएको उनको भनाइ छ।

कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ११ सय २९ मेट्रिक टन अलैंची उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३/७४ मा १२ सय ९८ मेट्रिक टन अलैंची उत्पादन भएको थियो। यो उत्पादनको आर्थिक मूल्याङ्कन करिब १५ करोड हुन पुग्छ। कृषि विकास कार्यालयका प्राविधिक सहायक बलबहादुर विश्वकर्माले यस वर्ष उत्पादन भएका अलैंचीको परिमाणका विषयमा मंसिरमा मात्र टुंगो लाग्ने बताए। ‘तयारी अवस्थाका अलैंचीले पनि भाउ पाउन सकेको छैन, १५ वर्षभन्दा पुरानो बगानलाई नहटाइएकाले र व्यवस्थापन पक्षमा ध्यान नदिइएकाले अलैंचीको गुणस्तरमा प्रश्न उठेको हो,’ विश्वकर्माले भने।

अलैंची मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुन्छ। भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लाको ३ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ। जिल्लाका १० स्थानिय तहमा व्यवसायिक रूपमा अलैंची खेती हुँदै आएको छ। जिल्लाका कतिपय एउटै गाउँ तथा नगरपालिकाबाट समेत करोडौंको अलैंची निकासी हुने गरेको छ। अन्य बालीको तुलनामा थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदै गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.