|

सुर्खेतः
तिमीले टेक्ने धर्ती पनि, हामीले टेक्ने धर्ती पनि

तिमीभित्रको आत्मा पनि, हामीभित्रको आत्मा पनि
रगत हाम्रो एउटै होइन र? 
मान्छेमा किन विभेद पनि?

गायक तिलक गन्धर्व गीतमार्फत् समाजलाई प्रश्न गरिरहेका छन्, कसले बनायो सानो र ठूलो जात?

समाज २१औँ शताब्दीमा छ, तर अहिले पनि समाजमा जातलाई कारण बनाउँदै थुप्रै विभेद र अन्याय कायम छन्। सानो जात, ठूलो जात भनेर समाजका नागरिकहरू आन्तरिक द्वन्द्व मच्चाइरहेका छन्। 

जातीयताका नामबाट गरिने विभेद हटाउनका लागि थुप्रै सभा, सम्मेलन घोषणा हुँदासमेत समाजमा जातीयताको अग्लो पर्खाल कायमै छ। घोषणाहरू घोषणामै सीमित छन्। त्यति मात्रै होइन, संविधान र कानुनमा व्यवस्था भएका नियमसमेत कार्यान्वयनमा आउन सकेका छैनन्। सानो जात र ठूलो जात भनेर अझै पनि समाजमा विभेदहरू हट्न सकेका छैनन्। 

समाजका यस्तै जातीयताका अग्ला पर्खालभित्रका विभेद र वास्तविकतालाई समेटेर लेखक बालकृष्ण सुनारले एक चलचित्र निर्माण गरेका छन्। चलचित्रको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा प्रथम प्रदर्शनीसमेत गरियो। लेखनमा सक्रिय रहँदै आएका सुनारले जातीयताका नाममा हुने विभेदको अन्त्य गर्नका लागि केही गरौँ भन्ने दुई वर्ष अगाडिको चलचित्र बनाउने सपना पूरा भएको बताए। 

सामाजिक विभेदमा आधारित रहेर छ महिनाको अवधिमा सुर्खेत जिल्लाभित्रै छायांकन गरिएको चलचित्र ‘अछुत’ले हाम्रो समाजमा अझै पनि कायम रहेको जातीयताको नाममा गरिने विभेद र यसको न्यूनीकरणका लागि सहयोग गर्ने चलचित्रका लेखक सुनारको भनाइ छ।

उनले कानुनी रूपमा जातीय विभेदको अन्त्य भए पनि व्यावहारिक रूपमा अन्त्य हुन नसकेको भन्दै सबै मिलेर यसको अन्त्यका लागि अभियान थाल्नुपर्ने धारणा राखे।

२१औँ शताब्दीमा आइपुग्दा पनि समाजमा जातीय विभेद व्याप्त रहेको भन्दै यसलाई न्यूनीकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मानिसको सोचाइ र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने चलचित्रका लेखक तथा निर्देशक सुनार बताउँछन्।

उनले यस चलचित्रमार्फत् समाजमा रहेका केही रुढिवादी संस्कारमा परिवर्तन आउन सक्ने र मान्छेले मान्छेलाई मानवतावादी दृष्टिकोण राख्न सिकाउने पनि बताए।

पुरानो कथा तर पनि वास्तविकता
खासगरी चलचित्रलाई मनोरञ्जनका लागि मात्रै लिने चलन छ। तर पनि २१औँ शताब्दीमा पनि जीवित रहेको जातीय भेदभावलाई अन्त्य गर्नका लागि गतिलो माध्यम चलचित्र ‘अछुत’मा पुरानो कथा उठाइएको छ। कथा पुरानो भए पनि वास्तविक भएको दर्शक बताउँछन्। 

चलचित्र हेर्ने दर्शकहरूले सामाजिक अभियानका लागि थप यस चलचित्रले मद्दत गर्ने भन्दै कलाकारिताका माध्यमबाट समाजमा जनचेतना फैलाउन र समाज परिवर्तनका लागि कोशेढुंगा सावित हुने बताएका छन्। चलचित्रमा समावेश भएको कथा पुरानो भए पनि सामाजिक विभेदमा आधारित चलचित्र अछुतले वास्तवितकता देखाएको दर्शकहरूको प्रतिक्रिया छ। 

सुर्खेतका पुराना तथा नयाँ कलाकारले मिहिनेत गरेर गरेको अभिनयले चलचित्रलाई थप भरिपूर्ण बनाएको छ। चलचित्र सबै सुर्खेतीहरूको शान र साझा सम्पतिसमेत भएको निर्माण पक्षको दाबी छ।

काँक्रेबिहार मुभी हाउस सुर्खेतले उत्पादन गरेको चलचित्रमा संजीव बराल र सपना सापकोटाको प्रमुख भूमिका रहेको छभने प्रेमदेव गिरी, गणेशभक्त गौतम, प्रकाश पौडेल, अकबर खान, गीता कटुवाल, शेरबहादुर आचार्यलगायत दुई दर्जनभन्दा बढी कलाकारहरूको अभिनय रहेको छ।

यस चलचित्रमा संगीत तिलक गन्धर्व, द्वन्द्व निर्देशन विशाल सानु श्रेष्ठ, सम्पादन बलभद्र पौडेल, छायांकन अकबर खानले गरेका छन्। चलचित्र निर्माणमा करिब सात लाख लगानी भएको निर्माण पक्षले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.