|

बेसीसहर : अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो। 

दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो। गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। 

चालकसहित १२ जना सवार जिप दुर्घटना भएको थियो। दुर्घटनामा अन्य दुई नेपालीसहित नौ जना विदेशी पर्यटक सामान्य घाइते भएका ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीले जानकारी दिए। 

सामान्य घाइते एक नेपालीलाई लमजुङ अस्पतालमा उपचार गरिएको छ भने अन्यलाई हेलीकप्टरमार्फत काठमाडौँ लाने तयारी गरिएको छ। जिप बेसीसहरबाट पर्यटक लिएर तालसम्मको लागि नै गएको बुझिएकोे छ। बेसीसहर–चामे सडकखण्डबाट तालतर्फ जाने घुम्तीमा उक्त जिप दुर्घटना भएको थियो। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.