|

रमेश तिमलसिना

रौतहट : धार्मिक र पर्यटकीयस्थल नजरपुर मासु, मदिरा र सुर्तिजन्य पदार्थबाट निषेधित गाउँ बनेको छ। नजरपुरमा मदिरा तथा सुर्तीजन्य पदार्थ र माछामासु विक्री वितरण र खानपान बन्द छ। गाउँका  किराना पसलहरुमा मदिरा, सुर्तीजन्य पदार्थ चुरोट, गुठ्खा, सुर्ती केही पाइँदैन। चन्द्रनिगाहपुरदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको सो बस्ती ०२० मा बसेको हो।

सो गाउँको करिब ४ सय घरधुरीका सबै मानिस कृष्ण प्रणामी धर्म मान्नेहरु छन्। उक्त बस्ती १५ वर्षअघि नै पूर्ण साक्षरता भएको स्थानीय शिक्षक उद्धवप्रसाद घिमिरेले जानकारी दिए। गाउँमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री तथा सेवन नहुने र सबैले नियम पालना गर्दै आएको उनको भनाइ छ। नजरपुर गाउँका अधिकांश मानिस कृषि पेसामा आबद्ध छन्। उक्त गाउँका अधिकांश किसानले एउटा गाई भैँसी पालेका छन्।

काटमार र बलि निषेध

करिब तीन हजार जनसंख्या रहेको उक्त गाउँमा दुर्व्यसनमुक्त, पूर्ण शाकाहारी, पशुपक्षी बलि निषेध गाउँको रुपमा परिचित रहेको कृष्ण प्रणामी मन्दिर सञ्चालक समितिका अध्यक्ष   दाताप्रसाद दाहालले बताए। अझ रोचक  पक्ष त के छ भने अधिकांश कृषि पेसामा आबद्ध भए पनि उक्त गाउँका मानिसले खसीबाख्रा, बोका, हाँस, कुखुरा, परेवा पालन गर्ने गरेका छैनन्।

गाउँ लागुपदार्थ निषेध तथा पूर्ण शाकाहारी, घर घरमा शौचालय, गाउँ नै साक्षर भएकाले, व्यवस्थित रहेकाले  पनि मुलुकमै विशेष पहिचानको रुपमा परिचित भएको दाहालले बताए। अध्यक्ष दाहालले भने, ‘बस्ती बसेको ५० वर्ष भयो गाउँमा झैभगडा तथा अपराधका घटना भएका छैनन्, अड्डा अदालत, जानु परेको छैन।’

अध्यक्ष दाहालका अनुसार सो मन्दिरको पूर्वाधार निर्माण गर्नकै लागि १ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। ०२२ देखि निरामिषभोजन प्रयोग गर्ने शुद्धशाकाहारी श्री कृष्णप्रणामी भक्तजनहरूको बसोबास रहेको इतिहास छ।

उक्त क्षेत्रमा धार्मिक पर्यटकीय एवं सामाजिक सेवाको प्रेरक केन्द्रको रुपमा विकास गर्ने लक्ष्यअनुरुप श्री कृष्ण प्रणामी मन्दिर, वृद्धाश्रम, श्रीप्राणनाथ अतिथि आवास, योगध्यान केन्द्र, पाकशाला एवं भोजन गृह,पुष्पवाटिका, श्री कृष्ण प्रणामी सामुदायिक विद्यालय तथा प्रवचनकक्षको निर्माण सम्पन्न भएको अध्यक्ष दाहालले जानकारी दिए।

अध्यक्ष दाहालले भने, ‘यस क्षेत्रलाई हिंसारहित धार्मिक,सामाजिक, पर्यटकीय स्थलको रुपमा विकास गर्दै आध्यात्मिक मार्गबाट सामाजिक, सांस्कृतिक र पर्यटन विकासमा मद्धत पुर्‍याउन महोत्सवले ठूलो सहयोग गरेको छ।’

मध्यतराईको नुनथर क्षेत्र पनि त्यस्तै

अर्को मध्यतराईकै पर्यटकीय क्षेत्रको रुपमा रहेको आकर्षणस्थल नुनथर क्षेत्र पनि हो। तीन जिल्लाको संगम तथा रौतहट जिल्लाको उतर पूर्वी भागमा अवस्थित नुनथर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको छ। पवित्र वाग्मती नदीको किनारमा रहेको सो पर्यटन केन्द्रमा दैनिक सयौंको संख्यामा देश तथा विदेशका पर्यटकहरुको आगमन हुने गरेको छ।

विशेष गरी श्रावण महिनाभरि, नयाँ वर्ष, बिदाका दिनहरु र अन्य खास मौकामा यस क्षेत्रमा पर्यटकहरुको चाप अत्याधिक हुने गरेको छ। यस क्षेत्रमा घुम्न  र पिकनिक खान रौतहट जिल्लाका विभिन्न गाउँहरु तथा छिमेकी जिल्लाहरु बारा, पर्सा , मकवानपुर, महोतरी , सर्लाही, धनुषा , सिन्धुली लगायत छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरु आउने गरेका छन्।

धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तुहरु यस क्षेत्रमा चर्न आउँदा बाग्मतिको पानी पिइसकेपछि यहाको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम  नुनथर रहन गएको किवंदन्ती रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.