|

जनकपुरधाम : जनकपुरको अतिव्यस्त मानिने पेठिया बजारको सडकमा लाग्दै आएको थोक तथा खुद्रा विक्रेताको पसल हटाइएको छ। जनकपुर र यस आसपासकै अत्यधिक थोक बिक्रेताहरु रहेको पेठिया बजार सडकमा  चलाउँदै आएको व्यापार-व्यवसायलाई ट्राफिक प्रहरी कार्यालय जनकपुरले आइतबार खाली गराएको हो।

जनकपुरको महावीर चौकदेखि नै सडकमा विभिन्न मसलाका व्यापारी, भाँडाकुँडा, हार्डवेयर, किराना, आलु तथा प्याज स्टोर, लगायत अन्य खुद्रा पसलहरु सडकमै सञ्चालन गर्दै आइरहेको करिब ३ सयभन्दा बढी पसलहरु हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिनन्द चौधरीले जानकारी दिएका छन्।

उनका अनुसार वर्षौंदेखि सडकमै विभिन्न किल्ला तथा छाप्रो बनाई होटल, मरमसला, कुटानपिसान, विभिन्न पसल, लगायत लक्ष्मीपूजा र छठलाई मध्यनजर गर्दै बाटोमा लगाइएको डोरी, चप्पलको जस्ता खुद्रा तथा थोक व्यवसायीहरुलाई सडक खाली गराउन लगाइएको प्रहरी निरीक्षक चौधरीले जनाए।

महावीर चोकदेखि पेठिया बजार तथा पेठिया बजारबाट दक्षिणतर्फ नेपाल टेलिकम, उत्तरतर्फ दशरथ तलाउ पोखरी र पश्चिमतर्फ हाइवे जोड्ने सडकलाई पहिलो चेतावनीस्वरुप सूचना काटेर जानकारी गराई पहिलो पटक चेतावनीसहित हटाइएको चौधरीले बताए।

 उनले भने, ‘सडकमै अतिक्रमण गरी बनाइएको घर टहरा, तथा सडक अतिक्रमण मुक्त अभियानअन्तर्गत पेठिया बजारको सडक खाली गराइएको हो। अब आइन्दाको दिनमा अटेरी गरेर व्यवसायील सडकमा पुनः व्यवसाय सञ्चालन गरेको पाइए सम्पूर्ण समानसहित जफत गर्न बाध्य हुन्छौं।’

यता, नगरपालिकाका नगरप्रमुख लालकिशोर साहले समेत सडकमा अतिक्रमण गरी बनाइएको घर टहरा तथा व्यवसायलाई सार्वजनिक सूचना नै जारी गरेर खाली गराउन पहल अगाडि भएको बताए। उनका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको कामसमेत सक्दो तीव्र गतिमा अगाडि बढाउन आफूहरु लागेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.