पछिल्लो चरणमा नेपाली चलचित्र छाया‌ंकनमा सुदूरपश्‍चिम क्षेत्र पहिलो रोजाइ

|

डडेल्धुरा : प्रदेश नम्बर ७ अर्थात् सुदूरपश्चिममा नेपाली चलचित्र र म्युजिक भिडियो छायांकन गर्ने क्रम बढेको छ। डडेल्धुरालगायत प्रदेश नम्बर ७ का  अन्य जिल्लाहरुमा रहेका सुन्दर एवं रमणीय पर्यटकीयस्थलमा म्युजिक भिडियो तथा चलचित्र छायांकन हुने क्रम बढेको छ।

 काठमाडौं पोखरा लगायतका विभिन्न ठाउँमा छायांकन हुने नेपाली चलचित्र र म्युजिक भिडियोहरु पछिल्लो समयमा यस क्षेत्रमा पनि छायांकन हुन थालेका हुन्।अहिले विशेष गरी जिल्लाको मुख्य पर्यटकीय क्षेत्र तथा सुदूरपश्चिकै प्रसिद्ध धार्मिकस्थल उग्रतारा र घटालथान मन्दिर चलचित्र तथा म्युजिक भिडियो छायांकनका लागि रोजाइको ठाउँ बन्ने गरेको छ। 

म्युजिक भिडियो छायांकन गर्न डडेल्धुरा पुगेका गायक गोपाल सूचीकारले यहाँको रमणीय दृश्यहरुले आफूलाई पहिलेदेखि नै आकर्षित गरेको हुनाले आफ्नो गीतको म्युजिक भिडियो डडेल्धुरामै छायांकन गरेको बताएका छन्। ‘डडेल्धुरामा थुप्रै रमणीय पर्यटकीय क्षेत्र छन् भन्ने थाहा थियो’ उनले भने, यही भएर आफू पनि यहाँ म्युजिक भिडियो छायांकन गर्न आएको हुँ।’

साथै यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु प्रचारप्रसारको अभावले ओझेलमा पर्दै गइरहेको हुनाले पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ म्युजिक भिडियो डडेल्धुरामै छायाकंन गरेको गायक सूचीकारको भनाइ छ। डडेल्धुरालगायत अन्य जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पनि म्युजिक भिडियोहरु छायांकन गर्ने योजना रहेको उनले बताएका छन्।

सुदूरपश्चिम प्राकृतिक हिसाबले सुन्दर र देवभूमिले भरिएको ठाउँ भएकाले नेपाललगायत अन्य देशमा पनि यसको प्रचारप्रसार होस् भन्ने उद्देश्यले डडेल्धुरामा म्युजिक भिडियो छायाकंन गरेको कलाकार सुशील पाण्डेले बताएका छन्।

डडेल्धुरामा छायांकनका लागि अन्यन्तै राम्रा दृश्य समेट्न सकिने ठाउँ भएको र पर्यटकीय हिसाबले पनि उच्च सम्भावना बोकेको जिल्ला भएको पर्यटन व्यवसायी सुदाम थापा बताउँछन्।

‘डडेल्धुरा चलचित्र तथा म्युजिक भिडियो छायांकन गर्नको लागि उपयुक्त ठाउँ हो’ उनी भन्छन्, चलचित्र र भिडियोहरुमा यहाँका दृश्यहरु कैद भएँ, यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा पनि ठेवा पुग्छ।’ साथै उनले पर्यटन क्षेत्रहरुको विकास र प्रवद्र्धनका लागि स्थानीय सरकारसँग कुुराकानी भइरहेको समेत पर्यटन व्यवसायी थापाले बताउँछन्।

म्युजिक भिडियो तथा चलचित्रमा डिजिटल पुस्ताको आगमनसँगै छायांकनको दायरा पनि विस्तार हुँदै गएको छ। डडेल्धुरामा पछिल्लो समयमा किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित भएर बनेको राष्ट्रियस्तरको ऐतिहासिक नेपाली चलचित्र ‘भीमदत्त’, ‘कमलेको बिहे’ लगायतका आधा दर्जन बढी चलचित्रहरु छायांकन भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.