|

कालिकोट : सशस्त्र द्वन्द्वका बेला माओवादीले जिल्ला मालपोत कार्यालयका आगजनी गर्दा अछाम जिल्लाका सर्वसाधारणले भोगचलन गर्दै आएको जग्गा धनी पुर्जा पाएका छैनन्। ०५८ मा तत्कालीन माओवादी आक्रमणमा सदरमुकाम मंगलसेनका विभिन्न सरकारी कार्यालयमा आगजनी हुँदा कागजपत्र जलेपछि उनीहरू हालसम्म जग्गा धनी पुर्जाविहीन बनेका हुन्।

जग्गा धनी पुर्जा २०७१ सालमा अछामको विशेष टोलीले नापनक्सा गरेको भए पनि अछामका धेरैजसो मानिसले जग्गा धनीपुर्जा पाउन नसकेको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन्। ‘विशेष टोलीले यसभन्दा अघि जग्गाको नापनक्सा गरेको थियो।’ उनले भनिन्, ‘केही मानिसले जग्गा धनी पुर्जा पाएका भए पनि कैयौंले अझै जग्गा धनीपुर्जा पाएका छैनन्।’

अछामका स्थानीयवासीले कैयौंपटक जग्गा धनी पुर्जाका लागि सांसददेखि मन्त्रीसम्मलाई आफ्ना समस्या भनेको भए पनि कसैले सुनुवाइ नगरेको अछाम पञ्चदेव विनायक नगरपालिका वडा–८ चिल्तडाका प्रेम भाटले बताए। ‘अछाम जो मन्त्री र सांसद आउँदा पनि हामीले जग्गा धनीपुर्जा नपाएको कुरा ग¥यौं।’ उनले भने, ‘तर, कसैले पनि चासो दिएन।’

जग्गा धनीपुर्जा नहुँदा गाउँमा रहेका किसानहरुले ऋण लगायतका सहुलियत पाउन वञ्चित रहेका त्यसका आर्थिक आयआर्जनका कार्यमा समस्या भएको तुर्माखाद गाउँपालिका भैरवस्थानका दलबहादुर बिसीले बताए। ‘जग्गा धनीपुर्जा नहुँदा किसानहरुले कृषि ऋणसमेत पाउन सकेका छैनन।’ उनले भने, ‘यसले गर्दा स्थानीयहरुलाई निकै समस्या भएको छ।’

द्वन्द्वमा कार्यालय सबै रेकर्डहरु जलेका कारणले जग्गा धनीपुर्जाका लागि जिल्लाभरी विशेष नापनक्सा भए पनि व्यक्तिका नाममा रहेको जग्गाको प्रमाणका कागजपत्र नभेटिएपछि सबै ठाउँ सबै व्यक्तिलाई पुर्जा वितरण गर्न नसकिएको नापी कार्यालय अछामका प्रमुख सियाराम ठाकुरले बताए। ‘कैयौंको कागजात नै भेटिएन।’ उनले भने, ‘त्यसले गर्दा सबैभन्दा ठूलो समस्या भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.