|

इलामः दसैँपछि मौसममा सुधार आएकाले इलाममा पर्यटकहरूको आगमन सुरु भएको छ। पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। 

इलामका मुख्य पर्यटकीयस्थलहरूमा पर्याप्त होटल तथा होमस्टे नहुँदा चिन्ता थपिएको हो।

सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी, पाथीभरालगायतमा यतिबेला पर्यटकको चाप बढ्न थालेको छ।

मुख्य पर्यटकीयस्थल मानिने जिल्लाकै अग्लो डाँडो सन्दकपुर (तीन हजार ६३६ मिटर)मा अहिले दिनहुँ ३०० भन्दा बढी पर्यटक आउँदा थाम्नै गाह्रो भएको होटल शेर्पा च्यालेटका संचालक डण्डु शेर्पाले बताए। 

सन्दकपुरबाट नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमचुचुरा १८० डिग्रीको सोझो सतहमा देखिन्छन्। सन्दकपुर भारतीय पर्यटकहरूका लागि मनालीपछि दोस्रो उत्कृष्ट ट्रेकिङ गन्तव्य भएको टुरिष्ट गाइडहरू बताउँछन्। सन्दकपुरको बाटो हुँदै पर्यटक कञ्चनजंघा आधार शिविरसम्म ट्रेकिङ गर्ने गर्छन्।

मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले गत वर्ष नयाँ भ्यू टावर बनाइदिएपछि सुर्योदयको दृश्य हेर्न अन्तु आउने पर्यटकको संख्या बढ्दो छ। अन्तु पर्यटन विकास समितिका अध्यक्ष एवं होमस्टे सञ्चालक धनकुमार आलेले दिनहुँ करिब डेढ सय पर्यटक यहाँ आइरहेको बताए। अन्तुमा पर्याप्त होमस्टे नहुँदा कतिपयलाई पेइङ गेस्टको रूपमा राख्ने गरिएको छ। 

मुख्य पर्यटकीयस्थलमा पर्याप्त होटल तथा होमस्टे नहुँदा पर्यटकहरू बास बस्न इलाम सदरमुकाम तथा झापाको विर्तामोड जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.