|

काठमाडौंः पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले नयाँ सडकमा शाखा विस्तार गरेको छ। 

सोमबार एक कार्यक्रमका बीच बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर– २२ स्थित नयाँ सडकमा आफ्नो ४८औं शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकको विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन्। बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितिमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन्। 

विस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ। राष्ट्रियस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको निलगिरि विकास बैंक र चितवनको शुभेच्छा विकास बैंकलाई आफूमा गाभिसकेको छ। 

गरिमाले राजधानीमा पाँच शाखासहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। विकास बैंकहरूमा उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रूपन्देहीको मणिग्राममा ४९औं शाखा विस्तार गर्ने जानकारी कार्यक्रममा दिइयो। 

बैंकले निकट भविष्यमै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। मुलुकका अन्य पाँच स्थानमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए। 

कार्यक्रममा चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.