|

बैतडीः पछिल्लो दुई सातादेखि बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव देखिएको छ। सरकारले औषधि खरिद गर्न स्थानीय तहमै रकम पठाए पनि समयमै औषधि खरिद नहुँदा बैतडीका स्वास्थ्य संस्थामा अभाव भएको हो।

औषधि खरिद गरेका स्थानीय तहहरूमा पनि एक महिनाका लागि मात्रै औषधि पुग्ने अवस्था रहेको स्वास्थ्य संस्थाहरूले बताएका छन्। 

केही स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन। स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामीहरूलाई विना औषधि फर्काउनुपरेको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले बताए। ‘स्वास्थ्य संस्थामा सिटामोलसमेत अभाव छ’, उनले भने, ‘औषधि अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्।’

दश स्थानीय तह रहेको बैतडीमा अहिले चार तहले मात्रै औषधि खरिद गरेका छन् भने छ तहमा औषधि खरिद नहुँदा स्वास्थ्य संस्थामा चरम समस्या निम्तिएको छ। एक महिना मात्रै पुग्ने औषधि खरिद हुने गरेकाले महिनैपिच्छे समस्या देखिने गरेको पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। ‘अहिले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव छ। चार लाख रूपैयाँको औषधि किनेर वितरण गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘तर त्यो औषधि एक डेढ महिनामै सकिन्छ। त्यसपछि के गर्ने भन्ने विषयमा निकै अन्योल छ।’ 

सिगास गाउँपालिकाका सबैजसो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको स्वास्थ्य संयोजक महेश भट्टले बताए। उनले भने, ‘औषधि खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छौँ तर थोरै रकम भएकाले औषधि पार्याप्त मात्रामा पूर्ति गर्न सकिने अवस्था छैन।’ 

६ स्थानीय तहले औषधि किन्न बाँकी
जिल्लाका पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरू स्थानीय तहले औषधि खरिद गर्न सकेका छैनन्। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले औषधि खरिद गर्न बाँकी छ।

यी स्थानीय तहले औषधि खरिदका लागि बल्ल प्रक्रिया सुरु गरेका छन्। औषधि खरिद गरेका स्थानीय तहमध्ये पुरचौडी, मेलौली र पञ्चेश्वरले वितरण गर्न बाँकी छ। औषधि खरिद गर्न रकम अपुग भएको र कर्मचारीसमेत नहुँदा प्रक्रिया ढिलो भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य सहसंयोजक तर्कराज भट्टले बताए।

डिलासैनी गाउँपालिकामा पनि औषधि अभाव रहेको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त कबदारले बताए। सरकारले स्थानीय तहमै औषधि खरिद गर्न रकम पठाएको भए पनि निकै थोरै रकम भएकाले खरिद गरिने औषधि एक महिनाभन्दा बढी नपुग्ने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए। 

जिल्लाका स्वास्थ्य संस्थामा साउनमा जिल्ला स्वास्थ्य कार्यालयले केही औषधि पठाएकाले अहिलेसम्म जेनतेन चलिरहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य सहसंयोजक भट्टले बताए।

जिल्ला अस्पतालमा समेत औषधिको अभाव कायमै छ। जिल्ला अस्पतालमा रहेको फार्मेसीमा समेत सबै औषधि नहुँदा नागरिकले चर्को मुल्य तिरेर निजी पसलबाट किन्नुपर्ने बाध्यता छ। जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि नागरिकहरू उपचारका लागि भारतीय बजार पिथौरागड जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.