|

विराटनगर : आपुर्तीमन्त्री शिवकुमार माण्डलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदमा रहेर काम गर्न दिन नसकिने बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री मण्डलले निगमको करोडौं रुपैयाँ अनियमितता गरेका व्यक्तिमाथि लागेको अभियोग निष्कर्षमा नपुग्दै पदमा बहाल गरेर काम गर्न दिँदा प्रमाण नष्ट गर्न सक्ने भएकोले मन्त्रालयले कानुनी अधिकार प्रयोग गरेर काम कारबाही गर्नबाट रोक लगाउने बताए।

मन्त्री मण्डलले अदालतले तत्काल मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिएर भ्रष्टाचारको विरुद्धमा रहेका जनताहरुलाई दुखित बनाएको टिप्पणी समेत  गरे। उनले भने, ‘संसदका सबै समितिहरुले अनियमितता भएको भन्दै कारवाहीको सिफारिस गरेको, प्राप्त आधार र प्रमाणबाट पनि पुष्टी भएको कुरालाई कागजी प्रक्रियाको बहानामा पुनर्बहाली गर्ने कार्यले आम जनतालाई दुखी बनाएको छ।’

अदालतको आदेशपछि सोमबार अपरान्ह खड्काले पद बहाल गर्दै निगममा हाजिर गरेका छन्। मन्त्री मण्डलले आफू काठमाडौं फर्केपछि मन्त्रालयमा झिकाउने तयारी रहेको जानकारी दिए। निर्वाचन आचारसंहिता आदि विषयहरु विद्यमान रहेकोले आयोगसंग समेत परामर्श गरेर अघि बढ्ने उनले बताए। साथै अनियमिततामा संलग्नहरुलाई कारबाही गर्न नसके मन्त्रि पदमा नबस्ने घोषणा गरेका मन्त्री मण्डलले आफू पूर्व अडानबाट पछाडि नहट्ने दोहोर्‍याए।

खड्काको विषयमा अदालतको आदेश आए पनि अन्तिम फैसला नआइसकेको अवस्थामा थप अनुसन्धान गरी आवश्यक प्रमाण सहित अख्तियारमा कारवाहीका लागि पठाइने मण्डलले जानकारी दिए।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका मन्त्री मण्डलले आगामी निर्वाचनलाई लिएर दुई ठूला वामपन्थी शक्तिसमेतका बीचमा भएको गठबन्धनको समझदारी सौहार्दपूर्ण वातावरणमा कार्यान्वयन हुने बताए।  त्यसैलाई लिएर अनुभवी प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठन्धनका सहयात्री दलका सदस्य विरुद्ध कुनै गलत कदम नउठाउने उनले विश्वास व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.