|

रूपन्देहीः ठूलो परिणामको लागूऔषधसहित उक्त लागूऔषध खरिद बिक्रीमा संलग्न भरिया र कारोबारी गरी चार जनालाई सोमबार रूपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको रोहिणी गाउँपालिकाबाट लागूऔषध खरिद बिक्री हुँदै गर्दा ओमसतिया– ६ का गुलावचन्द शाहनी, पोखरा लेखनाथ नगरपालिका– ३ का अन्तिम गुरुङ, तनहुँ व्यास नगरपालिका– १ की अन्जु गुरुङ र रोहिणी– ७ का राधेश्याम यादव पक्राउ परेका हुन्। 

उनीहरूको साथबाट  डाइजेपाम, फेनरागन र नुफिन गरी दुई हजार १०० सीसी लागूऔषधसहित नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

पक्राउ परेका यादव भारतमा लागूऔषध खरिद गरी नेपाल ल्याउने, साहनी भरिया र गुरुङद्वय खरिदकर्ता हुन्। रोहिणी गाँउपालिका क्षेत्रमा लागूऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी पक्राउका लागि परिचालन भएको थियो।

टोलीले रोहिणी– ३ रामनगरको सडक किनारमा लु२८प १२६१ नम्बरको मोटरसाइकल र सो नजिक गुलावचन्द साहनी, अन्तिम गुरुङ र अन्जु गुरुङ शंकास्पद रूपमा उभिइरहेको अवस्थामा देखेर नियन्त्रणमा लियो। उनीहरूलाई खानतलासी गर्दा लु२८प १२६१ नम्बरको मोटरसाइकलको लेग गार्डमा प्लाष्टिकमा लुकाई राखेको लागूऔषध डाइजेपाम, फेनरागन र नुफिन ७५/७५  सीसी गरी  २२५ सीसी र अन्तिमको साथबाट नगद १७ हजार रुपैयाँ तथा अन्जुको साथबाट तीन हजार रुपैयाँ बरामद गर्‍यो।

उक्त लागूऔषध राधेश्यामसँग गरीद गरेको भन्ने उनीहरूको बयानपछि उनको घरमा खानतलासी गर्न पुगेको प्रहरीले घरको कोठाभित्र टिनको गहुँ राख्ने भकारीमा प्लाष्टिकको बोरामा लुकाई  राखेको अवस्थामा लागूऔषध डाइजेपाम, फेनरागन र नुफिन ६२५/६२५ सीसी गरी एक हजार ८७५ सीसी र  सोही कोठामा टिनको बाकसमाथि प्लाष्टिकको टोकरीमा विभिन्न दरका एक लाख रुपैयाँ तथा यादवको शरीरबाट ३८ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.