|

लहान : सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा सोमबार राति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

मिर्चैया र कर्जन्हा नगरको सीमाको रुपमा रहेको प्रयागपुरस्थित आफ्नै घरको भुइँतलाको कोठामा राति १० बजे सुत्न गएका करिब ३६ वर्षीय शशीभूषण साहको हत्या भएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गजुसिद्धी बज्राचार्यले स्थानीय गाउँलेमार्फत् राति साढे १ बजेतिर खबर आएपछि घटनास्थल पुगेको जानकारी दिए। प्रहरीले घटनास्थलबाट खुकुरी समेत बरामद गरेको जनाएको छ। उनका अनुसार घटना राति ११ र १२ बजेतिर भएको हुन सक्ने जनाइएको छ।

आफ्नै घरको भुइँतलाको कोठामा सुतेका मृतकको शव शौचालय जान माथिल्लो तलाबाट तल झरेकी श्रीमती सञ्जुकुमारी साहले रक्ताम्य अवस्थामा देखेपछि गाउँहरुलाई खबर गरेकी थिइन्। प्रहरीले हत्याको अनुसन्धानको क्रममा मिर्चैया मटियर्वाका दीलिप महरालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बज्राचार्यले बताए।

अनुसन्धानका लागि नियन्त्रणमा लिइएका महरा मृतकको मित हुन्। मृतक साह महरासँग सोमबार सप्तरीको शक्तिपीठ सखडा (छिन्नमस्ता) पुगेर राति उनकै मोटरसाइकलमा घर फर्किएको श्रीमतीसँगको कुराकानीलाई उद्धृत गर्दै कर्जन्हा नगरपालिकाकी उपप्रमुख ज्ञानकुमारी श्रेष्ठले बताइन्।

खेतीपाती, जग्गा किनबेच र ठेक्कापट्टाको काम समेत गर्दै आएका शशीको हत्या लेनदेन तथा व्यक्तिगत रिसइवीको कारणले भएको हुन सक्ने आशङ्का गरिएको भए पनि अनुसन्धानपछि मात्र केही भन्न सकिने प्रहरी नायव उपरीक्षक बज्राचार्यले बताए।

मृतकको शवको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारजनलाई बुझाइसकेको प्रहरीले जनाएको छ। मृतककी श्रीमती सञ्जु स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा उम्मेदवार रहेको भए पनि मृतक साह पार्टीको सामान्य समर्थक मात्र हुन्। घटनापछि कर्जन्हाका प्रमुख गंगा पासवान, उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ, मिर्चैयाका प्रमुख श्रवणकुमार यादव, एमालेका नेता रामदियाल महतो लगायतको प्रतिनिधि मण्डलले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुगेर तत्काल दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.