|

काठमाडौं : नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएका बेला कुनै पनि बाहनामा मन्त्रीहरु नहटाउन सरकारलाई आग्रह गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले निर्वाचन आचारसंहिता विपरित हुने भन्दै मन्त्री नहटाउन आग्रह गरेको हो। 

नेकपा माओवादी केन्द्रले प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारी गरेका बेला एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो। 

सरकारले मंसिरमा हुन गइरहेको निर्वाचनको मिति सार्न अनेक बाहना गरिरहेको भन्दै निर्वाचन सारेमा लोकतन्त्रमाथिकै कुठाराघात हुने एमाले उपाध्यक्ष भीम रावलले बैठकपछि बताए। 'सरकारले विभिन्न बाहना बनाएर निर्वाचन सार्न खोजिरहेको छ। यदि सरकारले त्यस्तो सोचेको छ भने त्यो लोकतन्त्रमाथिको कुठाराघात हो। यो काम सरकारले तत्काल रोकेर निर्वाचनमा लाग्नुपर्छ' नेता रावलले भने।

समयमा उम्मेदवार सिफारिस

बैठकले निर्वाचन आयोगले तोकेकै मितिमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बुझाउने निर्णय गरेको छ। 'तोकिएकै समयमा नै हामीले उम्मेदवारहरुको नाम सिफारिस गर्छौ। अहिले त्यसका लागि गृहकार्य भइरहेको छ' उपाध्यक्ष रावलले भने, 'सहमतिअनुसार नै नामहरु सिफारिस गर्छौ। असोज २७/२८ गते बस्ने स्थायी कमिटीको बैठकले समानुपातिकको लिष्ट समयमा आयोगलाई बुझाउँछ।' निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने मिति असोज मशान्तसम्म तोकेको छ। 

बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माणको काम छिटोभन्दा छिटो अगाडि बढाउने तथा अन्य पार्टीसँगको ध्रुवीकरणको बार्ता निरन्तर जारी राख्ने निर्णय समेत गरेको छ। यसैगरी एमालेले निर्वाचनको अभियान देशभरी तथा प्रवास पनि चलाउने निर्णय गरेको छ।

बैठकले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार भएको हत्याको भत्सर्ना गर्दै गौचनको हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.