|

स्थायी कमिटी सदस्य शंकर पोख्रेल नेकपा एमालेभित्र वैचारिक नेता मानिन्छन्। अध्यक्ष केपी शर्मा ओलीका निकटका नेता पोखरेल सामाजिक सञ्जालमार्फत व्यक्त विचार र सार्वजनिक कार्यक्रमको अभिव्यक्तिबाट बेलाबेलामा चर्चामा आइरहन्छन्। हालै बाम गठबन्धन भएपछि पनि उनले त्यसको विपक्षमा प्रतिक्रिया दिएको भनी सामाजिक सञ्जालमा चर्चा भयो। उनले आफू विपक्षमा नरहेको भनी स्पष्टीकरण नै दिनुपर्‍यो। यसै सन्दर्भमा केन्द्रित रहेर थाहाखबरका लागि देविका घर्ती मगर जयसिंह महराले पोख्रेलसँग गरेको कुराकानी :

प्रदेश र प्रतिनिधि सभा चुनाव नजिकिएपछि नेकपा एमालेले माओवादी केन्द्र लगायतका दलसँग गठबन्धन गरेको छ। सँगै विभिन्न दलका नेता र व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराइरहेको छ। यसमा तपाई पनि निकै सक्रिय देखिनुभयो नि?

निर्वाचन नजिकिएका कारण हामी चुनावी तालमेलकै विषयमा बढी केन्द्रित छौं। एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँग चुनावी तालमेल गर्ने र पार्टी एकताका लागि पहल गर्ने भनेर ६ बुँदे सहमति भइसकेको छ। त्यो कुरालाई व्यवहारिक रुपमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल चलिराखेको छ। अब एउटै चुनावी घोषणापत्र तयार गरेर जाने सन्दर्भमा हामी केन्द्रित भएका छौं।

अर्कोतर्फ, केही राजनीतिक व्यक्तित्वहरु, स्वतन्त्र तथा आफ्नो छुट्टै वैचारिक समूह बनाएर बसेका समूहहरुबीचमा सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा पनि सहमति भएको छ। अधिकारको लडाईं हुँदाखेरि जति पार्टी भए पनि खासै फरक पर्दैनथ्यो। सडकमा नारा जुलुस लगाउनका लागि धेरै नेता, धेरै कार्यकर्ता भए पुग्थ्यो। जब राजनीतिक स्थायित्व र समृद्धिको प्रश्न अगाडि आउँछ, त्यतिबेला धेरै राजनीतिक दलहरु उपयुक्त हुदैनन्। दलहरु धेरै हुनु भनेको राजनीतिक द्वन्द्वको विस्तारमात्र हो। त्यसका लागि त स्वभाविक रुपमा पार्टी प्रवेश एउटा माध्यम हो भने ध्रुवीकरण अर्को माध्यम। 

बाम गठबन्धन र पार्टी एकतासम्मको कुरा भएपछि एमाले र माओवादी केन्द्रका कतिपय नेताहरु खुसी देखिएका छैनन्। तपाईंले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको विचारमा पनि त्यस्तो देखिन्छ। के यो गठबन्धनलाई सहज रुपमा स्वीकार गर्न नसक्नुभएको हो?

त्यो पूर्णत गलत कुरा हो। (मेरो सन्दर्भमा) गलत नियतका आधारमा समाचार बनाइएको छ। यस गठबन्धनबाट म खुसी मात्र होइन, यसलाई सफल पार्ने मिसनमा छु। पार्टीको घोषित नीतिका आधारमा हामीले चुनावी एकता र तालमेल गरेको हो। यद्यपी म पूर्व निर्धारित कार्यक्रम र दसैंको अवसरमा जिल्ला गएको बेला यहाँ प्रक्रियाहरु अगाडि बढे। त्यसमा मेरो अनुपस्थिति देखेपछि गलत ढंगले प्रयोग गर्न चाहने मान्छेहरुका लागि अवसर मिल्यो।

जबकी म दाङमै पनि यो विषयको विशेष चर्चा परिचर्चा कार्यक्रममा सामेल थिएँ। त्यहाँ मैले बोलेका कुरा भिडियो लाइभ रहेछ, अहिले मैले त्यसलाई सार्वजनिक गरिदिएको छु। त्यस अर्थमा हाम्रा मिडिया कस्ता छन् भन्ने कुराहरु मान्छेले बुझ्न पाउँछन्। मैले बोलेका कुरा के हो र त्यसका बारेमा टिप्पणी गर्ने मान्छेहरुले कसरी टिप्पणी गरे भन्ने कुरा प्रत्यक्ष बुझ्ने मौका त्यसैबाट प्राप्त हुन्छ।

यो गठबन्धनले माओवादीको भलाई भयो भन्ने चर्चा एमालेवृत्तबाट भइरहेको छ नि?

गठबन्धनले दुवैलाई लाभ नहुने हो भने त प्रक्रिया अगाडि बढ्दै बढ्दैन। एउटाको लाभको लागि अर्कोले एकता गर्छ भन्ने कुरा हुँदै हुँदैन। नेकपा एमालेले पनि यो एकता प्रक्रिया र चुनावी तालमेलबाट लाभ देखेको छ। माओवादी पक्षले पनि लाभ देखेको छ। त्यही भएर प्रक्रिया अघि बढेको हो।

प्रमुख नेताहरुबीचको छलफलको चरणमा त एउटै चिन्ह लिएर जाने सहमति भएकै हो। पछि माओवादी केन्द्रका साथीहरुले प्रत्यक्ष निर्वाचन पद्धतिमा आफ्नो चुनाव चिह्नमा उम्मेदवार नहुँदाखेरि समानुपातिक पद्धतिमा गाह्रो भयो भन्ने कुरा गर्नुभयो। यद्यपी अहिले पनि एउटै चिन्हमा जान सकिन्छ। एउटै चिन्हमा जाँदाखेरि मतदाताले सहजरुपमा छनोट गर्ने अवस्था रहन्छ भन्ने हाम्रो मान्यता छ। स्वभाविक रुपमा माओवादी केन्द्र तयार भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ। तर यही कारणले एकता प्रक्रियामा समस्या हुँदैन।

माओवादीका कतिपय नेताहरुले ढुक्कसँग पार्टी एकता भयो भन्न सकेका त छैनन् नि? एमालेभित्र के छ बुझाई?

मैले हिजोमात्रै प्रचण्डजीको एउटा अभिव्यक्ति सुनेको थिएँ। यो एकता प्रयास चाहिँ माओवादी केन्द्रको विघटन हो, पुरानो विघटन नभइकन नयाँ बन्दैन भन्नेखालको कुरा गर्नुभयो। त्यसैले माओवादीको लिडरसीपले पनि सहमतिप्रति आफ्नो प्रतिवद्धता जाहेर गरिराखेको छ। माओवादीले सशस्त्र द्वन्द्वबाट आएको र्‍याङ्क एण्ड फाइल (नेताहरुको क्रम) को कुरा गरेको छ। त्यसमा नेतृत्वले के भन्छ भन्नेले धेरै कुरा तय हुन्छन्।

नेकपा एमाले डेमोक्रेटिक प्रोसेस (निर्वाचन) बाट आउँछ। माओवादी त एकप्रकारले भन्ने हो भने युद्धकालीन अभ्यासबाट गुज्रेको पार्टी हो। त्यहाँ नेतृत्वले जे भन्छ कार्यकर्ताले सहज रुपमा ग्रहण गर्ने स्थिति छ। त्यसअर्थमा यो ठूलो समस्याको विषय होइन। कम्युनिकेसनको ग्याप (छलफलको कमी) ले कतिपयमा अस्पष्टता, अन्यौलता रह्यो होला विगतमा तर विस्तारै त्यो विषय सल्टिदै गएको छ।

पार्टी एकतासम्म जाँदा एमालेलाई माओवादीको जनयुद्ध र उसको वैचारिक धरातल माओवाद स्वीकार्न कति सहज होला?

एकजना रुसी दार्शनिकको भनाइ म बारम्बार सम्झिन्छु। उनले भनेका थिए 'इतिहासले कसैलाई सिक्न बाध्य गर्दैन, जसले इतिहासलाई सिक्दैन त्यसले सजाय पाउँछ।' इतिहास हेक्का राख्ने विषय हो, भारी बोक्ने विषय होइन। भविष्य कसरी बनाउने भन्ने प्रश्नमा जब सहमति हुन्छ इतिहासका प्रश्नहरुमा धेरै अल्मलिरहन जरुरी हुदैन। हिजोको राजनीतिक कार्यदिशाका सन्दर्भमा माओवादी केन्द्रका आफ्ना मान्यता थिए, नेकपा एमालेका आफ्ना मान्यता थिए र ती दुईवटा पार्टी थिए।

दुई वटा पार्टीको अस्तित्वमा आधारित भएर एकताको औचित्य पुष्टि गर्ने कुरामा केन्द्रित हुने कि एउटा पार्टी निर्माणका आधारहरुका सहमति कायम गर्न कोशिस गर्ने? एउटा पार्टी निर्माण गर्ने आधारहरुको खोजी प्राथमिक विषय हो भन्ने मलाइ लाग्छ। नेपालको राजनीतिमा हामी विगतका प्रश्नहरुमा ज्यादा अल्झिने गरेका छौं। म के ठान्छु भने, विगतका प्रश्नहरुमा होइन आगतका प्रश्नहरु, अब कसरी जाने भन्ने प्रश्नहरुमा सहमति कायम गर्ने हो भने यात्रा सहज हुन्छ।

उनीहरु माओवाद मान्दै आए, एमालेले जनताको बहुदलीय जनवाद मान्दै आयो। त्यसो हुँदाखेरि माओवाद र जबज मान्दै आएको कम्युनिष्ट पार्टी एकता हुँदाखेरि वैचारिक पक्ष के हुने?

माओवादमाथि त माओवादीभित्र पनि पहिलेदेखि बहस चलिराखेकै छ। मुख्य प्रश्न के हो त भन्दाखेरि माओवादी नेतृत्वले २१ औं शताब्दीको जनवादका रुपमा जे अवधारणा अगाडि सार्‍यो,  त्यो अवधारणा र जनताको बहुदलीय जनवादको अवधारणाका बीचमा तात्विक अन्तर छैन। हामीले खोज्ने त सहमतिको कुरा हो नि। सहमति कहाँबाट प्राप्त हुन्छ? उहाँहरुको २१ औं शताब्दीको जनवादका सोचहरु र नेकपा एमालेले अगाडि सार्दै आइरहेको जनताको बहुदलीय जनवादका सोचहरुमा तात्विक भिन्नता नरहिसकेपछि एकरुपता त त्यहाँबाट कायम हुन सक्छ। जे चिजमा एकरुपताको गुञ्जायस छ त्यो चिजलाई बोकेर हिँड्दा त म कुनै समस्या हुने देख्दिन।

बाम गठबन्धन बनिसकेपछि कतिपयले यसलाई एकदलीय शासन लाद्नका लागि हो भनेर पनि टिप्पणी गरेका छन्। यो गठबन्धन लोकतन्त्रकै लागि खतरा हो पनि भनेका छन् नि?

नेपाली कांग्रेस एउटा यस्तो पार्टी हो जसले लोकतन्त्रको कुरा गर्छ तर लोकतन्त्रमाथि विश्वास गर्दैन। लोकतन्त्रको कुरा गर्छ लोकतान्त्रिक अभ्यासलाई हरदम उपेक्षा गर्छ। त्यो पार्टीले अरुलाई लोकतन्त्रको कुरा सिकाउने? त्यसमाथि पनि नेकपा एमालेलाई सिकाउने भनेको कुरा त बिडम्बनाको कुरा हो। नेपालका राजनीतिक दलहरुभित्र सबभन्दा ज्यादा लोकतान्त्रिक अभ्यास गर्ने कुनै पार्टी छ भने त्यो नेकपा एमाले हो।

सिद्धान्तका हिसाबले सबभन्दा समुन्नत सिद्धान्त नेकपा एमालेको जनताको बहुदलीय जनवाद हो। त्यो पार्टीमाथि अधिनायकवादतर्फको यात्रा भनेर टिप्पणी गर्न मिल्छ? विश्वका ठूला तानाशाहहरु कम्युनिष्ट विरोधी नै थिए। हिटलर त कम्युनिष्ट थिएनन्। स्वार्ज त कम्युनिष्ट थिएनन्। त्यसअर्थमा तानाशाहीको जन्म कम्युनिजमबाट हुन्छ भन्नेखालको मान्यता नै गलत हो।

एकदलीय शासन व्यवस्था रहेको चीनमा समेत दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने प्रणाली र आन्तरिक लोकतान्त्रिक प्रणाली त उनीहरुले स्थापित गरेका छन् नि। तर नेपाली कांग्रेसभित्र एउटै व्यक्ति कतिपटक प्रधानमन्त्री? के अरु व्यक्तिसँग योग्यता, क्षमता थिएन? के उहाँहरु त्यो प्रकारको मान्यता अगाडि बढाउन तयार हुनुहुन्छ? लोकतान्त्रिक पद्धतिभित्र त्यसलाई स्थापित गर्न तयार हुनुहुन्छ? एउटै नेता आजन्म निर्वाचन क्षेत्रमा कायम रहिरहने, कुन पार्टीभित्र छ? कांग्रेसभित्रै छ।

यो गठबन्धन पार्टी एकीकरणसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उठेको छ। तपाईलाई कत्तिको विश्वास छ?

पार्टी एकीकरणको प्रक्रिया लामो हुन्छ। यो चुनावी तालमेल जस्तो फटाफट हुने विषय होइन। त्यसका लागि समय लाग्छ। वैचारिक, राजनीतिक प्रश्नहरुमा छलफलको आवश्यकता पर्छ। संगठननात्मक प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्नेखालका कुराहरु पनि छन्। त्यस्ता विषयहरुमा अलिक गम्भीर गृहकार्यको आवश्यकता पर्छ। तर अधिकारको लागि संघर्ष हुँदाखेरि बाम-प्रजातान्त्रिक शक्तिहरुका बीचमा एकता आवश्यक थियो। त्यही भएर नै पुष्पलालले संयुक्त जनआन्दोलनको कुरा गर्नुभयो। हामीले संविधानसभासम्म आउँदाखेरि नेपाली कांग्रेससँग सहकार्य गर्‍यौं। तर संविधानसभाबाट संविधान बनिसकेपछि अधिकारको संघर्षको प्रश्न आधारभूत रुपमा टुङ्गियो। त्यसपछि त अधिकारका माध्यमबाट जनतालाई शक्तिशाली बनाउने, राष्ट्रलाई समृद्ध बनाउने अभिभारा आयो।

राष्ट्रलाई कसरी समृद्ध बनाउने? भन्ने प्रश्नका सन्दर्भमा चाहिँ आर्थिक, सामाजिक व्यवस्थाको कुरा आउँछ। आर्थिक, सामाजिक व्यवस्थाको कुरा गर्दाखेरि कांग्रेस एउटा प्रकारको आर्थिक-सामाजिक व्यवस्थाको हिमायती छ। नेपालका बामपन्थीहरु अर्को प्रकारको आर्थिक-सामाजिक व्यवस्थाको हिमायती छन्। दुईवटा सामाजिक व्यवस्था एकैचोटी समाजमा कार्यान्वयन हुन सक्छ? सक्दैन। त्यसअर्थमा कुन सामाजिक व्यवस्थातर्फ नेपाली समाजलाई डोर्‍याउने भन्ने प्रश्नमा प्रतिस्पर्धा त जरुरी छ। अबको राजनीतिक प्रतिस्पर्धा भनेको कांग्रेस विरुद्ध कम्युनिष्टहरु नै हो।

नेपालका बामपन्थी पार्टीहरु अधिकारको लडाइमा जतिवटा पार्टी भए पनि सहज नै थियो। तर जब हामी समृद्धिको लडाइँ लड्छौं त्यो लडाइमा राजनीतिक स्थायित्वको आवश्यकता पर्दछ, र एउटा चेन अफ कमाण्डको आवश्यकता पर्छ। त्यस्तो अवस्थामा एउटा पार्टी अथवा एउटै मोर्चा बनाएर जाने कुरा उचित हुन्छ भन्ने रियलाइजेसन (स्वीकारोक्ति) नै अहिलेको प्रमुख पार्टीहरुका बीच एकता घोषणाबाट बुझ्नुपर्छ।

पार्टी एकता हुँदा नेता कार्यकर्ताको व्यवस्थापन कसरी हुन्छ? यदि एकीकरण भएमा एकीकृत पार्टीभित्र त ५ जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ। दोस्रो, तेस्रो तहमा पनि धेरै नेताहरु हुनुहुन्छ।

अहिले नै ३ जना पूर्व प्रधानमन्त्री भएको पार्टी व्यवस्थित ढंगले चलेको छ भने दुई जना  थपिदैमा व्यवस्थापनमा समस्या होला र?  यद्यपी दुई जना पूर्वप्रधानमन्त्री अलग-अलग पार्टीमा हुनुहुन्छ। उहाँहरु थपिनेबित्तिकै व्यवस्थापनमा समस्या होला र? तीन जना व्यवस्थापन गर्न सक्ने पार्टीले ५ जनाको पनि व्यवस्थापन गर्छ।

हामी डेमोक्रेटिक प्रोसेस (प्रजातान्त्रिक प्रक्रिया) मा विश्वास गर्छौ। संक्रमणकालीन अवस्थामा व्यवस्थापनका संक्रमणकालीन विधिहरु हुन्छन्। संक्रमणकाल टुङ्गिसकेपछिको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण हुन्छ। कार्यकर्ताको रोजाइमा जो पर्छ उ नेता हुन्छ। पूर्व अवस्थामा कसले के भूमिका खेलेको थियो भन्ने कुराको आधारमा (नेतृत्व) स्वतः प्राप्त हुने चिज त होइन। संक्रमणकालीन अवस्थामा हामी व्यवस्थापनमा नै जोड दिन्छौं। संक्रमणकालको अन्त्य पछाडि लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौ। भोलि नेकपा एमाले, माओवादी केन्द्र वा नयाँ शक्ति मिलेर बनेको पार्टीभित्र कार्यकर्ताको विश्वास अहिले प्रमुख पदमा रहेका नेताबाहेक अरु नेताहरुले आर्जन गरे भने तिनै नेता हुन्छन्।

एकतापछि बन्ने पार्टी एमाले जस्तो बन्ला कि माओवादी जस्तो बन्ला? कि यी दुबैबाहेक नयाँ विशेषताको हुन्छ?

नयाँ त नयाँ नै हुन्छ। नयाँ हुँदाखेरि कसको प्रभाव बढी पर्छ भन्ने कुरा त्यसपछाडिको सक्रियताले तय गर्छ। दुईवटा मिलिसकेपछि त्यसको प्रभाव त केही न केही भइहाल्छ। तर कुन प्रवृत्ति सक्रिय हुन्छ? कुन प्रवृत्ति स्थापित हुन्छ? भन्ने कुरा त भविष्यमा थाहा हुन्छ। अहिले त्यो विषयमा यस्तो हुनेछ भन्ने कुराको पूर्वानुमान गर्ने कुरा उचित होइन। तर म के ठान्छु भन्दाखेरि एकता प्रक्रिया पछाडि नयाँ प्रकारको उर्जा, गति र तागत प्राप्त हुन्छ।

चुनावपछि पार्टी एकता हुँदा केपी ओलीले सरकारको नेतृत्व गर्ने र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व लिने सहमति भएको कुरा बाहिर आएको छ नि! यो कत्तिको सहज होला एमालेलाई स्वीकार्न?

तपाईंले यो सडकमा उठेका कुरा गर्नुभयो। अहिले त हामीले चुनावी प्रक्रियाका सन्दर्भमा चिह्न (एउटै हुने) सम्मको कुरा गरेको हो। ६०/४० भागवण्डाको कुरा गरेका छौं। यस विषयमा छलफल गर्न दुईवटा कार्यदल पनि बनेको यथार्थ हो। त्यसपछाडि पार्टी एकताका लागि पहलकदमी लिनेखालको सैद्धान्तिक सहमति छ। अहिले नै हामीले भोलिको पार्टी कस्तो हुने? भनेर कुनै पूर्व धारणा बनाइसकेका छैनौं।

यो सडकमा आएको कुरा मात्र होइन, ठूलै वृत्तमा चलेका चर्चा हुन्।

त्यो त अब शुभेच्छुकहरुको चाहना होला। शुभेच्छुकहरुको चाहना एउटा पक्ष हो। तर त्यो औपचारिक रुपमा आएको छैन। मान्छेलाई कसरी व्यवस्थापन गर्छ होला भन्ने पूर्वानुमानका आधारमा कार्यकर्ताले कतै, बहस त गरिहाल्छन् नि। यति धेरै नेता छन्, के गरी व्यवस्थापन गर्ने होलान्? यसो गर्दा राम्रो होला। उसो गर्दा राम्रो होला। यस्ता छलफल तरंग पैदा हुने कुरा स्वभाविक कुरा हो। तर अहिले हाम्रो औपचारिक प्रक्रिया त्यो तहसम्म पुगेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.