६० लाख लगानीमा सल्यानमा जडिबुटी प्रशोधन केन्द्र

|

  • दीपक शर्मा-

असोज : सल्यानमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। माँ लक्ष्मी हर्वल उद्योगले शारदा नगरपालिका वडा न १५ मुलडाँडामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो।

 गाउँघरमा पर्याप्त मात्रामा पाइने जडीबुटी सस्तो रुपमा निकासी गरी प्रशोधित शोही जडीबुटी महँगोमा किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यका साथ जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आइएको कम्पनीले जनाएको छ।

झन्डै ६० लाखको लागतमा निमित्त उक्त उद्योगले खेर गई रहेका जडीबुटी र बनस्पतिलाई संकलन गरेर मोहर बनाउने र कृषकहरुलाई उत्पादनमा आर्कषित गर्ने लक्ष्य राखिएको माँ लक्ष्मी हर्वल उद्योगका सञ्चालक हरि न्यौपानेले जानकारी दिए। स्थानीयस्तरमा उत्पादन हुने जडीबुटी र प्रशोधन गरेर बजारीकरण गर्न उद्योग सञ्चालनमा ल्याएको न्यौपानेको भनाई रहेको छ।

 उनले भने, 'जिल्लाबाट वर्षेनि करोडौको जडीबुटी र बनस्पति कच्चा पदार्थको रुपमा बाहिर निकासी हुँदै आइरहेको छ किसानहरुले उचित मूल्यसमेत पाउन सकिरहेका छैनन् जसका कारण किसानहरु जडीबुटी खेतीतिर आर्कषणभन्दा विकर्षणतिर बढिरहेका छन्। त्यसलाई सम्बोधन गर्नका लागि हामीले यो उद्योग गाउँमै सञ्चालनमा ल्याएका हौं।'

 जडीबुटीका लागि प्रख्यात क्षेत्रका रुपमा रहेका रुकुम, रोल्पा, जाजरकोट, सुखेतलाई मध्यनजर गरी उद्योग सञ्चालनमा ल्याएको सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष तथा अर्को सञ्चालक विर बहादुर चलाउनेले जानकारी दिए।

वनपाखा, खोल्सा खोल्सीमा पाइने, टिमुर, तेजपात, जटामसी, मलागेरी, सुगुन्धगेरी, रोजवेरी लगाउतका जडीबुटी तथा बनस्पति संकलन गरेर गाउँकै उद्योगमा बेचेर कृषकले राम्रो आम्दानी लिन सक्ने चलाउनेले बताए। उनले भने, ‘उद्योग स्थापनाले वन पाखामा खेर गएको जडीबुटी संकलन गरेर राम्रो आम्दानी लिने आशा राखेका छाँै।’ 

चलाउनेका अनुसार प्रशोधित तेलको मूल्य बजारमा उच्च रहेको छ। पहिलो चरणमा टिमुरको तेल निकाल्न सुरुआत गरेको बताउँदै उनले बजारमा अहिले टिमुरको तेलको मूल्य प्रतिलिटर १० देखि १२ हजार  रुपैयाँ पर्ने सुनाए। स्थानीयले रोजगारी पाउनुका साथै किसानहरुले पनि उचित मूल्य गाउँमै पाउने आशा लिइएको उनको भनाइ रहेको छ।

जिल्ला वन कार्यालय सल्यानका अनुसार टिमुर, तेजपात, रिठा, काउलोको बोक्रा, चुक्रोको बोक्रा लगायतका जडीबुटी करोडौका दरले निकासी हुने गरेको छ। आर्थिक वर्ष ०७३/०७४ मा मात्र सल्यानबाट ३ लाख ९५ हजार ५ सय किलो टिमुर निकासी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.