|

इलामः आइतबार बिहान इलाम सदरमुकामको ठूलो टुँडिखेलमा फुटबल खेल्न पुगेका स्थानीय युवक सुवास राईलाई नेपाली सेनाका जवानले फुटबल खेल्न नदिई फर्काए। सेनाको पोसाकमै रहेका तीन जना र अन्य केही सादा पोसाकका सैनिकले सुवाससहितका करिब १५ युवालाई यहाँ फुटबल खेल्न दिएनन्। 

‘बिहान करिब सवा ७ बजे सेनाले यहाँ फुटबल नखेल्नू, यहाँ खेल्ने हो भने माथि (ब्यारेकमा) निवेदन दिई अनुमति लिएर मात्र खेल्न पाइन्छ भने’, राईले भने, ‘हामीले वर्षाैंदेखि यो टुँडिखेलमा फुटबल खेलिरहेका छौँ, अहिलेसम्म कसैसँग अनुमति लिनुपरेको थिएन। आइतबार सेनाका जवानहरूले एक्कासि त्यसो भन्दा छक्क पर्‍यौँ।’ 

सेनाले टुँडिखेल नापजाँच गर्नुपर्ने र अब यहाँ फुटबल खेल्न ‘माथिको अनुमति लिनुपर्ने’ भन्दै फर्र्काएको युवाको गुनासो छ। 

सदरमुकामको ठूलो टुँडिखेल नेपाली सेनाको मातहतमा छ। त्यसैले आइतबार सैनिक समूहले सुवास राई, सुवास चौधरी, अमृत राईलगायतको समूहलाई फुटबल खेल्न नदिई फर्काएको हो। ‘शनिबार बेलुका पनि सैनिकहरूले फुटबल खेल्न टुँडिखेल पुगेका युवालाई फर्काएका थिए’, राईले भने, ‘केही दिनयता सेनाले टुँडिखेल आसपासमा आफ्नो सेन्ट्री नै राखेर नियन्त्रण गरिरहेको छ।’ 

सेनाकै नाममा रहे पनि यहाँ वर्षाैंदेखि स्थानीय युवाले खेल अभ्यास गर्न पाएका थिए। यहाँ हरेक वर्ष पूर्वी पहाडकै ठूलो धनराशिको पुरस्कार रहेको माइभ्याली फुटबल प्रतियोगितासमेत आयोजना गरिँदै आएको छ। जिल्ला फुटबल संघ र माइभ्याली फुटबल क्लबले टुँडिखेलमा अहिले पनि दुबो रोपिरहेका छन्। 

टुँडिखेलमा व्यवस्थित प्यारापिट नभएकाले लगातार तीन वर्ष प्रतियोेगिता आयोजना गर्दा बाँसको प्यारापिटका लागि मात्रै अहिलेसम्म २२ लाख रूपैयाँ हाराहारी खर्च भएको माइभ्यालीले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। माइभ्याली गोल्डकपमा वर्सेनि हजारौँ समर्थकको भीड लाग्ने गरेको छ। यहाँ देशका ए–डिभिजनसहित भारत र बंगलादेशसम्मका खेलाडी फुटबल खेल्न आउने गरेका छन्।

सदरमुकाममा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणले भने यहाँ फुटबल खेल्न कसैलाई नरोकिने जनाएको छ। गणका गणपति असीमदीप गुरुङले टुँडिखेलमा फुटबल खेल्न नदिएको भन्ने गुनासो ‘मिस अन्डरस्ट्यान्डिङ’ मात्रै भएको प्रतिक्रिया दिए। 

‘भर्खर दुबो रोपेको मैदानमा दुबो रोपेको भागतिर हामीले अहिले फुटबल नखेलौँ मात्रै भनेका हौँ’, गुरुङले भने, ‘यो टुँडिखेल सेनाको नाममा रहे पनि इलामवासी जनताकै सम्पत्ति हो, यहाँ कसैलाई फुटबल खेल्न नदिने भन्ने कुरै आउँदैन।’ 

तर, उनले यसको मर्मतका लागि भने माथिल्लो निकायले नै अनुमति दिनुपर्ने बताए। ‘यहाँ प्रतियोगिता आयोजना गर्न र मर्मत गर्न माथिल्लो निकायले जे भन्छ, मैले त्यही कार्यान्वयन गर्ने मात्रै हो’, उनले भने, ‘फुटबल प्रतियोगिताका आयोजकसँग पनि समन्वय गर्न आवश्यकचाहिँ छ।’ उनले माइभ्याली गोल्डकपलगायतका प्रतियोगिता यहाँ आयोजना गर्न नदिने भन्ने भ्रममा नपर्न इलामवासीलाई आग्रह पनि गरे।

गणपति गुरुङले सेनाको मातहतमा रहेको टुँडिखेल आसपासबाट अतिक्रमणमा परिरहेको गुनासो गरे। ‘सेना वा सरकारको सम्पत्ति भनेको जनताकै सम्पत्ति भएकाले यसको संरक्षण गर्ने जिम्मा हामी सबैलाई छ’, उनले भने, ‘तर यो टुँडिखेल व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नदिनचाहिँ माथिकै आदेश छ मलाई।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.