|

बैतडीः जनशक्ति र भौतिक संरचनाको अभावमा बैतडीको शिवनाथ गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बन्दै गएको छ। 

जिल्ला शिक्षा कार्यालयबाट आउने सबै किसिमको आर्थिक सहयोग रोकिएको र गाउँपालिकाले कुनै सहयोग नगरेपछि अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुगेको यहाँका विद्यालयहरूले जनाएका छन्। 

वडा नम्बर एकमा रहेको त्रिवेणी अधारभूत विद्यालय एक जना शिक्षिकाको भरमा मात्र विद्यालय संचालन भइरहेको छ। स्थानीयस्तरबाट संचालित यस विद्यालयलाई २०६९ सालमा संचालनको स्वीकृति दिइएको थियो। 

यस विद्यालयमा स्थानीयस्तरबाट संचालित बालविकास कक्षा अध्यापनका लागि भर्ना गरिएकी शिक्षिका संगीता साउदले अहिले कक्षा तीनसम्म पढाउनुपरेको छ।

बालविकास कक्षामा २० जना विद्यार्थी भर्ना भएका छन् भने कक्षा एकमा २३ जना, कक्षा दुईमा १४ र कक्षा तीनमा १२ जना गरी जम्मा ६९ जना विद्यार्थी सो विद्यालयमा अध्यनरत छन्। विद्यालयमा दुईओटा मात्र कक्षा कोठा छन्, जसमा एक कोठामा कार्यालय र एकमा मात्र कक्षाकोठा सञ्चालन हुने गरेको छ। 

कार्यालय सहयोगीद्वारा कक्षा सञ्चालन 
विद्यालयमा एक जना कार्यालय सहयोगी पनि छन्। कार्यालय सहयोगीले पनि शिक्षिका अनुपस्थित भएको दिन तीन कक्षासम्म पढाउने गरेका छन्। आफू एक जना मात्रै शिक्षिका भएकाले विद्यार्थीहरूलाई बहुकक्षा शिक्षण विधिद्वारा पढाउने गरेको  विद्यालयकी प्रधानाध्यापकसमेत रहेकी संगीता साउदले बताइन्। 

‘आर्थिक आभावले शिक्षक भर्ना गर्न नसक्दा एक्लैले अध्यापन गराइरहेकी छु’, उनले भनिन्, ‘बालविकास कक्षादेखि तीन कक्षासम्मका विद्यार्थीलाई एकै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ।’ 

विद्यालयमा शिवनाथ गाउँपालिका– १ र पञ्चेश्वर गाउँपालिका– २ का विद्यार्थी अध्ययन गर्न आउने गरेका छन्। विद्यार्थीको संख्या बढ्दै गए पनि जनशक्तिसँगै भौतिक संचनाको अभाव भएको उनले बताइन्। ‘विद्यालयको कच्ची र जीर्ण अवस्थामा रहेको दुई कोठे भवन छ’, उनले भनिन्, ‘विद्यार्थीको संख्याअनुसारको भौतिक संरचना र जनशक्तिको व्यवस्थापन गर्न सकिएको छैन।’ 

गाउँपालिकाबाट भएन सहयोग
स्थानीय स्रोतबाटै चलिरहेको त्रिवेणी आधाभूत विद्यालयलाई व्यवस्थित बनाउन गाउँपालिकालाई गुहार गरिएको शिक्षिका साउदले बताइन्। ‘जिल्ला शिक्षा कार्यालयबाट आर्थिक सहयोग रोकिएपछि गाउँपालिकाले सबै व्यवस्था गर्छ भनियो तर कुनै सहयोग दिइएन’, उनले भनिन्। 

संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६९ ले जिल्ला शिक्षा कार्यालयलाई स्थानीय स्तरमा विद्यालय संचालन गर्ने अनुमति दिने तथा खारेज गर्ने अधिकार दिएको छ। तर विद्यालय स्थापना भएको छ वर्ष पुग्दा पनि स्थानीयस्तरबाट आउने सानो रकमले विद्यालय संचालन गर्नुपरेको छ। विद्यालयको स्तर उन्नतिका लागि जिल्ला शिक्षा कार्यालयले ध्यान नदिएको स्थानीय विद्यालयहरूको गुनासो छ। गाउँपालिकाले पनि विद्यालयको स्तर उन्नतिका लागि कुनै पहल नगरेको थापा बताउँछिन्। 

९ विद्यालयको अवस्था जर्जर 
शिवनाथ गाउँपालिकामा नौओटा सामुदायिक विद्यालय रहेका छन्। विकट शिवनाथका अन्य विद्यालयमा पनि आर्थिक अभावको कारणले शिक्षक भर्ना गर्न नसकेर कार्यलय सहयोगीले समेत पढाउनुपर्ने बाध्यता रहेको शारदा माविका शिक्षक नरायणदत्त कलौनीले बताए। ‘शिक्षकको अभावले कार्यालय सहयोगीले समेत पढाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘पहिले जिल्ला शिक्षा कार्यालयले दिने गरेको अनुदान पनि रोकिएको छ भने गाउँपालिकाले बेवास्ता गर्दा शिक्षकले तलब पाउन सकेका छैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.