|

उदयपुरः अधिकांश नेपाली युवाको सपना भनेको वैदेशिक रोजगारी हुन्छ। त्यही वैदेशिक रोजगारीमा गएर धोका पाएपछि अर्थात भनेको कमाइ र काम नपाएपछि मात्र नेपालमै केही गरौँ भन्ने मनोभव जाग्छ।

त्यसैको एक उदाहरण हुन् उदयपुरको बेलका नगरपालिका– १ आम्वासीका ३२ वर्षका कृष्ण बास्तोला। नौ वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका बस्तोलालाई एजेन्टले सुपरभाइजरको काममा पठाएका थिए। तर, बस्तोलाले न सुपरभाइजर बनेर पैसा कमाए, न उनले भनेको जस्तो दाम पाए। सिमेन्टका बोरा र इटा बोक्ने काममा परेका केही एकै हप्तामा उनी नेपाल फर्किए।

उनले मलेसियामा मात्र वैदेशिक रोजगार यात्रा गरेका थिएनन्। त्यसअघि भारतको मेघालयमा १० वर्ष समय बिताइसकेका थिए। ‘भारतमा काम गाह्रो तर कमाइ थोरै भयो’, उनले भने, ‘त्यसपछि मलेसिया गएँ, त्यहाँ पनि त्यस्तै भयो।’

नेपाल फर्केर उनले व्यवसाय गर्ने अठोट गरे। फेरि लगानी गर्ने कुनै माध्यम पनि भएन। बास्तोलालाई पैसाको अभाव भयो। विदेश जाँदाको ऋण पनि तिर्न सकेनन्। मेलेसिया जाँदाको ऋण तिर्न नसकेपछि पुनः ऋण गरेर बेलाका नगरपालिका– २ उदयपुरसँगै जोडिएको सप्तरीको फत्तेपुर बजारमा कुखुरापालन व्यवसाय सुरु गरे उनले।

दुई देशको वैदेशिक रोजगारीले पनि उनलाई उभाँे लगाएनन्। ‘कुखुरा व्यवसायले पनि ऋण मात्र थप्ने काम गर्न थाल्यो’, बास्तोलाले भने, ‘मैले पुनः मलेसियाका लागि पासपोर्ट म्यानपावर कम्पनीमा दिएँ।’ तर, भिसा लागेन अनि भारत नै हानिए उनी।

दोस्रो पटक भारतको मेघालय पुगेर फर्केका बास्तोला अहिले च्याउ खेतीबाट आम्दानी गरिरहेका छन्। ‘दोस्रो पटक भारत जाँदा दुर्घटनामा परेर फर्केको थिएँ’, उनले भने, ‘एक दिन रेडियो सुनिरहेका बेला स्थानीय रेडियोबाट लघु उद्यमी कसरी बन्ने भन्नेबारेमा थाहा पाएँ’, उनले भने, ‘मैले कस्ताकस्ता व्यवसाय गरेर उद्यमी बनिन्छ? उदयपुरमा कस्तो व्यवसायका लागि हावापानी ठीक हुन्छ भन्नेबारेमा थाहा पाएँ।’ यसपछि गाईघाटमा रहेको लघु उद्यम कार्यालयमार्फत च्याउ खेती गर्न आवाश्यक प्राविधिक सीप सिकेको उनी बताउँछन्।

त्यसपछि हिमाली च्याउ उद्योग दर्ता गरेर च्याउ खेती सुरु गरे उनले। ‘ऋणमाथि ऋण लिएर सुरु गरेको थिएँ’, हँसिलो अनुहार पार्दै उनले भने, ‘अहिले थाहा भयो, मलेसिया जाँदा र भारतमा गरेको दुःख आफ्नै घरमा बसेर गर्‍यो भने पनि फल पाइनेरहेछ।’

च्याउ खेतीमा बास्तोला मात्र छैनन्, उनको साथमा सहयोद्धा बनेकी छन् श्रीमती बालकुमारी बास्तोला पनि। ‘कुखुरा व्यवसायमा भन्दा कमै लगानी गर्दा पनि हुनेरहेछ’, उनले भने, ‘मलेसिया जाने पैसाले ठूलै च्याउ खेती गर्न सकिनेरहेछ।’

सानो लगानीमा तीन वर्षअघि च्याउ खेती सुरु गरेका बास्तोला अहिले वार्षिक छदेखि आठ लाख रुपैयाँ आम्दानी गर्छन्। स्थानीयस्तरमै पाइने बाँस र थाकलले बनाएका १० वटा टनेल छन्। बास्तोलाले हिमाली च्याउ उद्योगमा श्रीमतीलाई मात्र रोजगारी दिएका छैनन्, थप १७ जना स्थानीय युवाले समेत रोजगारी पाएका छन्। ‘अहिले दैनिक एक सय किलो च्याउ उत्पादन हुन्छ’, बालकुमारीले भनिन्, ‘प्रति किलो १७५ देखि २०० रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छौँ।’ 

काम चिन्न सके गाउँमै रोजगारी छ भन्ने लाग्छ अचेल बालकुमारीलाई। भनिन्, ‘अहिले गाउँमै बसेर विदेशको भन्दा बढी पैसा कमाइरहेका छाँै।’ महिनाको झण्डै तीन लाख रूपैयाँको च्याउ बिक्री गर्ने गरेको बास्तोला दम्पतीको दाबी छ।

उनीहरूले उत्पादन गरेको च्याउ सप्तरीको फत्तेपुर बजारमा मात्र होइन, उदयपुरको रामपुर बजार, गाईघाट, इटहरी, धरान हुँदै पूर्वका विभिन्न शहरमा लैजानको लागि तरकारी ठेकेदार आफैँ आउने गरेको उनीहरूको भनाइ छ।

‘मसँग च्याउ खेतीको बारेमा सिक्नका लागि आउने प्रशस्त छन्’, उनले भने, ‘गाउँघरमा शाकाहारीको संख्या बढ्दै गएकाले यसबाट मुनाफा धेरै हुने सुझाव दिने गरेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.