|

सिमकोटः नेपाल खाद्य संस्थान हुम्लाले समयमै खाद्यान्न वितरण नगरेको भन्दै खाद्य संस्थानमा थाल बजाएर जनप्रतिनिधिले धर्ना दिएका छन्। 

नेपाल सरकारले लामो समयदेखि हुम्लाको लागि खाद्यान्न ढुवानी नगरेपछि सिमकोट बजार आसपासलाई खाद्यान्न चरम अभाव भएको भन्दै जिल्ला समन्वय समिति संयोजक दानबहादुर रावतको संयोजकत्वमा, उपसंंयोजक, गाउँपालिका अध्यक्षलगायत स्थानीयबासिन्दाले मंगलबार हुम्लाको खाद्य संस्थानमा थाल बजाएर समयमै खाद्यान्न ढुवानीसहित वितरण गर्नुपर्ने माग गरेका हुन्। 

एकातिर मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भएको र सिमकोट बजारवासी कर्मचारी, प्रहरीलगायत आसपासका बासिन्दालाई खाद्यान्न अभाव भएकाले तत्काल खाद्यान्न ढुवानी गर्न दबाबमूलक कार्यक्रम आयोजना गरिएको समेत संयोज रावतले बताए। 

जिल्ला खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख नारायणसिंह केसीले  पटक पटक खाद्यान्नको माग गर्दा पनि केन्द्रीय कार्यालयले सुनुवाई नगरेकाले हुम्लामा खाद्यान्न समस्या भएको  स्वीकार गरे। केसीका अनुसार सोमबार जिल्ला खाद्य व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर १० गते हुने निर्वाचनका लागि तत्कालै तीन हजार क्विन्टल खाद्यान्न मागको निर्णय गरेको छ। 

गएको बडादसैँमा समेत खाद्यान्न नपाएको र अब आउने तिहारमा पनि चामलसमेत नपाउने अवस्था आएपछि सम्बन्धित निकायाको ध्यानाकर्षण गर्नका लागि शान्तिपूर्ण रूपले पहिलो दिन राज्यलाई जानकारी दिन ज्ञापनपत्रसहित थाली बजाएको रावतले बताए। 

नेपाल खाद्य संस्थान हुम्लाको गोदाममा भने ४४ क्विन्टल चामल मात्र छ। यस वर्षको ढुवानी नगरेकाले चामलको अभाव भएको बताइएको छ। ढुवानीको जिम्मा लिएका निजी एयरलाइन्सहरू भारतीय पर्यटक ओसार्न व्यस्त रहेकाले पनि हुम्लामा चामलको अभाव बढ्दै गएको संस्थानका प्रमुख केसीको भनाइ छ।

गत बैशाखदेखि एक पटक मात्र चामल दिएको जिल्लावासीले दशै तिहारमा पनि चामल नपाउँदा तिहार कसरी मनाउने चिन्तामा परेको बताएका छन्।

जनप्रतिनिधिले उठाएको मागलाई तत्काल सम्बन्धित निकायमा पठाउने र चामल आपूर्तिका लागि पहल गर्ने संस्थानका प्रमुख केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.