|

बैतडी : सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ, जहाँ जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीको दिन गाउँलेहरुलाई खसी काटेर खुवाउनैपर्छ। यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास गरिन्छ। यस्तो परम्परा रहेको गाउँ हो मेलौली नगरपालिका वडा नम्बर ९ असुर।

परम्परा रोक्न गाउँले नै पुगे प्रशासन

अहिले आएर स्थानीय स्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ। विगत ५ पुस्तादेखि चल्दै आएको उक्त पराम्परले समाजिक तथा लैङ्गिक विभेदलाई बढवा दिएको भन्दै केही स्थानीयले बन्द वा परिमार्जन गर्न माग गरेका छन्। स्थानीयले यो परम्परा बन्द गर्न माग गर्दै मंगलबार विभिन्न सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएका छन्।

जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई ज्ञापनपत्र बुझाइएको हो। यो परम्पराले समाजमा गरीब र दलित समुदायमाथि आर्थिक भार परेको, लैंगिक विभेदला२ बढावा दिएको भन्दै केही स्थानीयले यसलाई रोक्न माग गरेका हुन्।

छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खशी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्ट बताउँछन्। ‘छोरी भए दुःख मनाउ गर्ने तर, छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जन बढी खसी काटिन्छन्’, उनले भने, ‘यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ।’

अचम्मको कुरा के भने, दलित परिवारमा पनि पहिलो सन्तान भए हरेक वर्ष तिहारको औंसीमा खसी काट्नु पर्छ। तर, त्यो खसी दलित समुदाय होइन, गैरदलितले मात्रै बाँडेर खाने चलन छ। यसले जातीय विभेद पनि बढाएको ज्ञापनपत्रमा उल्लेख छ। ‘यो परम्पराले समाजमा द्वन्द्व हुने र जातीय विभेदलाई बढवा दिएको छ,’ स्थानीय भीम भट्टले भने। 

गाउँका ७१ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले यो रुढीवादी परम्परा रोक्न आवश्यक पहल गरिदिन प्रशासनलाई अनुरोध गरेका छन्। ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस्ता प्रथाले समाजमा विकृति फैलाउने हुँदा यस्ता संस्कारलाई हटाउनु पर्ने बताए। ‘समाजिक विभेदलाई बढवा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुसी लाग्यो,’ प्रजिअ जोशीले भने, ‘यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.