|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा एमाले र नेकपा माओवादीलाई भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ। केन्द्रबाटै निर्णय गरेर ६०/४० को भागबण्डा गर्ने सहमति गरेका एमाले/माओवादीबीच प्रतिनिधिसभाका २ तथा प्रदेशसभाका ४ निर्वाचन क्षेत्र कसरी भाग लगाउने भन्ने अन्योल देखिएको छ। 

जिल्लाका १२ मध्ये ७ स्थानीय तह जितेको एमाले माओवादीलाई प्रदेशसभाको १ र प्रतिनिधिसभाको १ सिट दिन तयार छ। तर, माओवादीले भने प्रतिनिधिसभाको २ र प्रदेशसभाको २ सिट मागेको छ। यद्यपि यो विषय केन्द्रमै कठित कार्यदलले टुंगो लगाउने भए पनि जिल्लाका नेताहरु पनि गृहकार्यमा छन्।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले अग्नि सापकोटा, राजकुमार श्रेष्ठ र सरल सहयात्री पौडेलको नाम सिफारिस गरेको छ। एमालेका तर्फबाट अरुण नेपालको नाम सिफारिसमा परेको छ। क्षेत्र नम्बर २ मा माओवादीबाट दावा तामाङ र एमालेबाट शेरबहादुर तामाङको नाम सिफारिस भएको छ। यसमध्ये कुन क्षेत्र कुन पार्टीले लिने भन्ने विषय पनि टुंगो लागिसकेको छैन।

सापकोटाले १ नम्बरबाटै चुनाव लड्ने तयारी गरिरहेका छन्। अर्कोतर्फ एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका नेपाल पनि १ नम्बरमै चुनाव लड्न चाहन्छन्। एमालेले माओवादीलाई २ नम्बर क्षेत्र दिने पहल गरे पनि सापकोटा १ नम्बर छाड्ने मनस्थितिमा छैनन्। नेपाल र सापकोटाको एउटै क्षेत्र परेपछि सिन्धुपाल्चोकमा वाम गठबन्धनलाई क्षेत्र बाँडफाँट चुनौतीपूर्ण छ।

प्रदेशमा संख्याकै विवाद

प्रदेशसभाका ४ सिटमध्ये कति–कति भागबण्डा गर्ने भन्ने विषयमा पनि कुरा मिलिसकेको छैन। एमाले आफू ३ सिट लिएर माओवादीलाई १ सिट दिन चाहन्छ। तर, माओवादी भने २÷२ सिट हुनुपर्ने पक्षमा छ।

क्षेत्र नम्बर १ (क) मा माओवादीले लालकान्छा तामाङ र एमालेले सशेष नेपालको नाम सिफासि गरेको छ। १ (ख) मा माओवादीबाट माधव सापकोटा ‘सुवोध’ र एमालेबाट सशेष नेपालसहित अन्य ४ जनाको नाम सिफारिस भएको छ। यस्तै २ (क) मा माओवादीले युवराज दुलाल तथा एमालेले पूर्वसांसद सुभाष कर्माचार्यको नाम सिफारिस गरेको छ। यस्तै २ (ख) मा माओवादीबाट चन्द्रबहादुर थापा र एमालेबाट बालकृष्ण देउजा, मित्रलाल चौलागाईं, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे र डोल्मा तामाङको नाम सिफारिसमा परेको छ।

यसमा पनि कुन क्षेत्र कसले लिने भन्ने विषयमा अन्योल कायम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.