गोरखा : एनआरएनले यही असोजमा पुनर्निर्माण सम्पन्न गरेर स्थानीयलाई घर हस्तान्तरण गर्ने सम्झौताअनुसार पुनर्निर्माण सुरु गरेको लाप्राकमा अहिलेसम्म जम्मा दुईवटा घर मात्रै निर्माण भएको छ। करिब एक अर्ब लगानीमा ५ सय ७३ घर पुननिर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको अवधिमा जम्मा २ घर मात्र निर्माण सम्पन्न भएका हुन्।
‘यो दसैंमा ५७३ वटै घर स्थानीयलाई हस्तान्तरण गर्ने भनेर काम सुरु भएको थियो,’ लाप्राकका स्थानीय मार्सिङ गुरुङले भने, ‘तर, हिजो मंगलबार एनआरएनका शेष घले सरको टोली, सिडियोसाप, सिइसो साप आएर हेर्नुभयो, जम्मा दुईवटा मात्र घर बनेको छ।’
भूकम्पका कारण गाउँनै स्थानान्तरण गर्नुपर्ने भएपछि ५ सय ७३ घर रहेको लाप्राकको पुनर्निर्माण गुप्सीपाखामा थालिएको हो। दुई घर निर्माण सम्पन्न भएका छन् भने, ३ सय घरको डिपिसी ढलान मात्र भएको छ। २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल र एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। वैसाखमा सम्झौता भए पनि बस्ती निर्माणको शिलान्यास गत माघमा मात्र भएको थियो। साथै केही सामुदायिक भवन निर्माणका लागि पनि विभिन्न क्षेत्रबाट स्रोत सुनिश्चित भएको कार्यक्रममा जानकारी गराइएको प्रजिअ जितेन्द्र बस्नेतले बताए।
शेष घलेले सारे भाका
२०७३ सालको वैशाख १२ गते भूकम्प गएको एकवर्ष पुगेको अवसरमा लाप्राक पुननिर्माण परियोजनामा हस्ताक्षर गरी माघमा शिलान्याश गर्दा ८ महिनाभित्र सबै घर स्थानीयलाई हस्तान्तरण गर्ने बताएका एनआरएनका अध्यक्ष शेष घलेले पुनः अको भाका राखेका छन्। आफ्नो कार्यकालको अन्तिम चरणमा रहेका घलेले मंगलबार लाप्राक पुगेर आगामी असार मसान्तभित्र सबै घरको पुननिर्माण सक्ने बताएको धार्चे गाउँपालिका लाप्राकका वडाध्यक्ष राज गुरुङले बताए।
एनआरएनले घर निर्माणका लागि गुप्सीपाखामा नै इट्टा बनाइरहेको छ। डिपिसी गरिएका ३ सय घरका लागि आवश्यक इट्टा तयार भइसकेको कार्यक्रममा जानकारी दिइयो। सोही ठाउँको माटो परीक्षण गरी एनआरएनले मेसिनहरु खरिद गरेर इट्टा बनाएको हो। इट्टा बनाउन स्थानीय बासिन्दा, नेपाली सेना र एनआरएनमार्फत लाप्राक आएका विदेशी स्वयमसेवकहरु खटिएका छन्।
स्थानीयहरुले बस्ती निर्माणका लागि श्रमदान गरिरहेका छन्। ढुङ्गा स्थानीयले जुटाएका छन्। एकीकृत नमूना बस्ती निर्माणका लागि नेपाली सेनाका १ सय १२ जनाले श्रमदान गरिरहेको एनआरएनले जनाएको छ। साथै रोजगारको शिलसिलामा विभिन्न देशमा पुगेका गैरआवासीय नेपालीहरुले पनि विदामा आएर श्रमदान गरिरहेका छन्।
निर्माण हुने घरमा वातावरण मैत्री छाना
गुप्सीपाखामा निर्माण हुने घरमा वातावरण मैत्री जस्ताको छाना रहनेछन्। डिपिसीसम्म ढुङ्गा माटो, तल्लो तलामा इको ब्रिकको गारो र माथिल्लो तलामा ट्रिट गरिएको बाँस रहेछन्। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिइसकेको छ।
साथै स्वास्थ्य चौकी, साुमदायिक भवन, बस्तीभित्रको सडक लगायतका आवश्यक पूर्वाधारका लागि पनि स्रोत जुटाइरहेको जनाइएको छ। नयाँ बस्ती निर्माणाधीन गुप्सीपाखामा खानेपानीको व्यवस्थाका लागि केयर नेपालले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको समन्वयमा काम गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।