|

काठमाडौ‌ं: चिकित्सा क्षेत्र सुधारका लागि भन्दै पटक पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गाेविन्द केसीसँग सरकारले औपचारिक वार्ता गर्ने तयारी गरेको छ।

सरकारले डा. केसीको मागबारे छलफल गर्नका लागि बुधबार प्रधानमन्त्री कार्यालयका सचिव नागेन्द्र उपाध्यायको संयोजकत्वमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा. किरण रेग्मी सम्मिलित वार्ता टोली गठन गरेको हो।

डा. केसीको मागबारे सरकारले डा. केसी पक्षसँग अनौपचारिक छलफल गरिरहेको र चाँडै नै औपचारिक वार्ता बस्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए।

'डा. केसीको मागबारे हामी निरन्तर अनौपचारिक वार्ता गरिरहेका छौ जतिसक्दो चाँडो औपचारिक वार्ता सुरु हुन्छ होला', डा. लम्सालले भने।

यता, डा. केसीका मागबारे सरकार गम्भीर नभएको आरोप लगाउँदै आएको केसी पक्षले पनि वार्ता समिति गठन गरेको छ। प्रा. डा. वाइपी सिंहको संयोजकत्वमा डा. अभिषेक सिंहसहितको टोली डा. केसीको तर्फबाट वार्तामा सहभागी हुने उनका सहयोगीसमेत रहेका डा. अभिषेक सिंहले बताए।

बिहीबारदेखि १३औँ पटक अनसन बसेका डा. केसीको आज सातौँ दिनसम्म आइपुग्दा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौं विश्वविद्यालयले आफूखुसी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्नेलगायत माग राख्दै डा. केसी अनसन बसेका हुन्।

मंगलबार डा. केसी पक्ष, कानुन मन्त्रालयका प्रतिनिधि र शिक्षामन्त्रीबीच चिकित्सा शिक्षा विधेयकबारे भएको छालफलमा केही परिमार्जनसहित उक्त विधेयक संसदबाट पारित गर्ने सहमति भएको स्रोतको भनाइ छ। आजै पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अनसनरत डा. केसीलाई भेटेर उनका अन्य मागबारे छलफल समेत गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.