|

  • रमेश तिमल्सिना-

रौतहटः जिल्ला वन कर्यालय रौतहटले बरामद गरेको सवारी साधन तथा काठहरू विगत लामो समयदेखि लिलामी नहुँदा करोडौँ रुपैयाँको राजश्व कुहिएर जान लागेको छ। विगत १०÷१५ वर्षदेखि बरामद गरिएका सवारी साधनहरू जिल्ला वनको प्रांगणमा कुहिएर जान लागेको हो। 

लिलाम प्रक्रिया झन्झटिलो भएका कारण यस्ता सवारी साधनहरू भनेको समयमा लिलाम हुन नसेको जिल्ला वन कार्यालयले जनाएको छ। काठ चोरी प्रयोजनमा पक्राउ गरिएका सवारी साधनहरूको जिल्ला अदालत र जिल्ला वन कार्यालयमा मुद्दा चलिरहेको कारण पनि यस्ता सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकिएको जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए। 

जिल्ला अदालत र जिल्ला वनबाट सफाई पाइसकेकाहरूको लिलाम प्रक्रिया प्रतिनिधिसभाको निर्वाचन सकिएलगत्तै सुरु गरिने वन अधिकृत कोइरालाले बताए। साइकललगायतका केही बरामद सामग्री नियमअनुसार लिलाम गरिएको समेत वन अधिकृत कोइरालाले जानकारी दिएका छन्। रौतहटमा तस्करहरूले वनबाट काठ तस्करी गर्न ट्र्याक्टर, ट्रक, भ्यानलगायतका सवारी साधनको प्रयोग गर्दै आएका छन्। 

छवटा ट्रक, छवटा ट्र्याक्टर, दुईवटा भारतीय नम्बर प्लेटका बोलेरो र तीन दर्जनको हाराहारीमा टायरलगायतका बरामद सामग्रीहरू जिल्ला वनको वन रक्षक शाखाको प्रांगणमा रहेको जिल्ला वन कार्यालयका स्टोर शाखाका सुब्बा दिपेश कोइरालाले जानकारी दिए। 

उक्त संख्याका सवारी साधनहरू पूर्ण रूपमा काम नलाग्नेगरी कुहिएर रहेका छन्। ती सवारी साधनमा बरामद काठ पनि कुहिएर नास हुँदै गएको छ। त्यस्ता सवारी साधनको समयमा नै लिलाम नहुँदा राज्यको करोडौँ रुपैयाँ राजश्व गुमेको स्थानीय युवा भरत आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.