|

काठमाडौं: वामपन्थी दलहरू एकता हुने क्रम बढिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ। यी दुई पार्टीबीच बुधबार पार्टी एकता भएको हो।

एकता भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा संयुक्तसँगको एकताले पार्टीमा नयाँ संस्कार आउने बताए। उनले नेकपा संयुक्तका पाका नेता र माओवादीका युवा नेताहरूको संयोजनले पार्टीलाई वैचारिक रूपमा सम्पन्न बनाउने बताए। उनले भने, 'यो एकताले एमालेसँगको एकताका लागि बनेको संयोजन समितिलाई शक्ति दिनेछ।'

त्यस्तै, माओवादी केन्द्र र नेकपा एमालेबीच भएको चुनावी गठबन्धन र पार्टी एकता गर्ने घोषणाले देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकेत देखेर माओवादीसँग एकतामा आएको संयुक्तका अध्यक्ष गणेश साहले बताए। उनले भने, 'असोज १८ गते माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा जाने पार्टीले निर्णय गरेको थियो, त्यतिबेला म विदेश थिएँ, फर्किएर आएपछि एक कदम अघि बढेर २४ गते पार्टी एकतामा जाने निर्णय गर्‍यौँ।' उनले कम्युनिस्टहरू एकताबद्ध भएर समाजवाद उन्मुख राजनीतिमा लाग्ने बताए।

संयुक्तका अध्यक्ष साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिमा छलाङ मार्दै जाने गरेकाले आफूले पार्टीलाई 'वेल्डिङ' गर्ने बताए। उनले प्रचण्डलाई भने, 'जनयुद्ध गरेको पार्टीका नेता तपाईं र शान्तिपूर्ण आन्दोलन गर्दै गरेको पार्टीबीच एकता होइन, वेल्डिङ भएको छ।'

व्यवस्थापिका संसदमा नेकपा संयुक्तका तीन जना सांसद छन्।

दुवै पार्टीका अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गरेर पार्टी एकताको घोषणा गरेका हुन्। उनीहरूले राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको अग्रगामी विकासका लागि विभिन्न समूहमा रहेका प्रगतिशील, वामपन्थी र देशभक्त गणतान्त्रिक शक्तिहरूलाई एकतामा आउन अपील पनि गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.