मनोरञ्जन

७५ पुगे अमिताभ, थाहा पाअौँ उनीबारे केही रोचक तथ्य
SHARES

असोज २५, २०७४

    काठमाडौँ: भारतीय चलचित्रका लोकप्रिय अभिनेता अमिताभ बच्चन बुधबारदेखि ७५ वर्ष पूरा भएका छन्। हिन्दी चलचित्र उद्योग (बलिउड)मा लामो समय योगदान गरेका बच्चन हिन्दी चलचित्रका सफल र प्रभावशाली अभिनेता मानिन्छन्। उनलाई ‘शताब्दीकै महानायक’को उपाधि दिएका छन् उनका प्रशंसकहरूले। उनलाई ‘एंग्री यङ मेन’ पनि भन्ने गरिएको छ।

    बच्चनलाई बिगबी, शहंशाह पनि भन्ने गरिन्छ। तीन पटक सर्वश्रेष्ठ अभिनेताका रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका बच्चनले १४ पटक फिल्मफेयर अवार्ड प्राप्त गरिसकेका छन्। 

    चलचित्र अभिनेतासँगै बच्चन गायक, निर्माता तथा टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा पनि चर्चित र लोकप्रिय छन्। भारत सरकारद्वारा दिइने उच्च सम्मान पद्मश्री तथा पद्मभूषणबाट पनि बच्चन विभूषित भइसकेका छन्।

    भारतको उत्तर प्रदेशको इलाहवादमा जन्मिएका बच्चनका बुबा हरिवंश राय बच्चन हिन्दी साहित्यका प्रसिद्ध कवि हुन्। 

    अभिनेत्री जया बच्चनसँग विवाह गरेका बच्चनका दुई सन्तान छन्। छोरा अभिषेक बच्चन पनि हिन्दी चलचित्रमा लोकप्रिय अभिनेताका रूपमा चिनिन्छन् भने छोरी श्वेता नंदा हुन्। उनकी बुहारी अभिनेत्री ऐश्वर्या राया हुन्, जो विश्व सुन्दरीसमेत भइसकेकी छन्। 

    ‘भुवन शोम’ चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका बच्चन अभिनेताका रूपमा भने ‘सात हिन्दुस्तानी’ चलचित्रबाट प्रवेश गरेका हुन्। यसबीचमा केही चलचित्रमा अभिनय गरेका भए पनि उनका ती चलचित्र चलेनन् तर ‘जञ्जीर’ले भने उनको अभिनययात्रामा महत्त्वपूर्ण सहयोग ग¥यो। यही चलचित्रपछि उनले हिन्दी चलचित्र क्षेत्रमा पछाडि फर्कनुपरेन।

    सात हिन्दुस्तानी, आनंद, जञ्जीर, अभिमान, सौदागर, चुपके चुपके, दिवार, शोले, कभी कभी, अमर अकबर एंथनी, त्रिशूल, डा‘न, मुकद्दरका सिकंदर, मि. नटवरलाल, लावारिस, सिलसिला, कालिया, सत्ते पे सत्ता, नमक हलाल, शक्ति, कुली, शराबी, मर्द, शहंशाह, अग्निपथ, खुदा गवाह, मोहब्बतें, बागबान, ब्लैक, वक्त, सरकार, चिनी कम, भूतनाथ, पा, सत्याग्रह, शमिताभ जस्ता चर्चित र लोकप्रिय चलचित्रमा अभिनय गरेका बच्चन यस शताब्दीकै महानायक बन्न पुगे।

    अमिताभका चलचित्रले राम्रै व्यापार गरिरहेका बेला सन् १९८२ जुलाई २६ मा अचानक ‘कुली’ चलचित्रको सुटिङका क्रममा उनलाई गम्भीर चोट लाग्यो। यस चलचित्रमा एउटा ‘एक्सन सिन’मा अभिनेता पुनीत इस्सरलाई मुक्का हान्नुपर्ने थियो र उनले मेचबाट जमिनमा लड्नुपर्ने थियो। तर जब उनी मेचतर्फ दौडिए, मेचको कुनोले उनको पेटमा चोट पर्‍यो, जसका कारण यति गम्भीर अवस्था आइलाग्यो कि उनी बाँच्छन् भन्ने कुरामै शंका हुन थाल्यो। तर उनी त्यसबाट बाँच्न सफल भए।

    चलचित्र ‘कुली’मा लागेको चोटपछि उनलाई लाग्यो कि उनले अब चलचित्रमा अभिनय गर्न पाउनेछैनन्। यसकारण उनले राजनीतिमा प्रवेश गरे। आठौँ लोकसभा चुनावमा आफ्नै गृहक्षेत्र इलाहवादबाट उत्तर प्रदेशका मुख्यमन्त्री एचएन बहुगुणालाई भारी मतले हराए। तर बच्चन राजनीतिमा लामो समय टिक्न सकेनन् र पुनः चलचित्रमै फर्किए।

    जब उनको कम्पनी एबीसीएल आर्थिक संकटसँग जुधिरहेको थियो, तब उनका मित्र राजनीतिज्ञ अमर सिंहले उनलाई ठूलो सहयोग गरे। पछि अमिताभले पनि अमर सिंहको समाजवादी पार्टीलाई निकै सहयोग गरे। उनकी पत्नी जया बच्चन समाजवादी पार्टी प्रवेश गरिन् र पछि जया राज्यसभा सदस्य पनि बनिन्। पार्टीका लागि अमिताभले केही विज्ञापन र राजनीतिक अभियान पनि गरे।

    उनी चलचित्रमा फर्किएपछि चलचित्र ‘शहंशाह’ हिट भयो। यसपछि उनले चलचित्र ‘अग्निपथ’मा निभाएको भूमिकाको प्रशस्तै प्रशंसा भयो, जसका कारण उनलाई राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त भयो।

    अमिताभ बच्चनसँग जोडिएका केही रोचक तथ्य
    – अमिताभ बच्चनलाई शताब्दीकै महानायक मानिन्छ। उनलाई हिन्दी चलचित्रका सबैभन्दा ठूला नायक मानिन्छ।

    – अमिताभलाई जुन चलचित्र (जञ्जीर)ले खास पहिचान दियो, यस चलचित्रमा अभिनयका लागि बच्चनभन्दा पहिला चर्चित अभिनेता राजकुमारलगायतका लोकप्रिय अभिनेतालाई अफर गरिएको थियो। राजकुमारले निर्देशकको कपालमा लगाएको तेलको वास्ना मीठो नआएको भन्दै उक्त चलचित्रमा काम गरेनन्।

    – सन् १९७०–८० को दशकमा हिन्दी चलचित्र क्षेत्रमा अमिताभको आधिपत्य रह्यो। यही कारण फ्रान्सेली निर्देशक फ्राँस्वाँ त्रुफोले उनलाई ‘वन मेन इण्डष्ट्री’ भनिदिएका थिए।

    – बच्चन सबैभन्दा बढी ३९ पटक फिल्मफेयर अवार्डमा मनोनित भएका थिए भने उनले १४ पटक यो अवार्ड जितेका थिए।

    – बच्चनले चलचित्रमा बोलेका संवाद (डायलग) अत्यन्तै लोकप्रिय छन्। 

    – चलचित्र ‘जञ्जीर’ आउनुअघि बच्चनले चलचित्र क्षेत्र छाड्ने सोच बनाएका थिए।

    – अमिताभको आवाज, जुन आज संसारभर प्रिय छ, यही आवाजका कारण उनलाई चलचित्रमा आउन समस्या भएको थियो सुरुमा। तर पछि उनको त्यही आवाजले शताब्दी महानायक बन्न सफल भए उनी।

    – अमिताभ बच्चन दुवै हातले एकसाथ लेख्न सक्छन्।

    – उनका बुबा हरिवंश राय बच्चनले उनको नाम इन्क्लाव (क्रान्ति) राख्न खोजेका थिए, तर पछि अमिताभ राखियो, जसको अर्थ हुन्छ, ‘अनन्त मेधावी।’

    – बच्चन इन्जिनियर बन्न चाहन्थे र एक पटक इण्डियन एयर फेर्समा काम गर्न चहन्थे।

    – उनको संघर्षका दिनहरूमा बच्चनले केही रात मुम्बईका बेञ्चहरुमा बिताएका थिए।

    – चलचित्र ‘खुदा गवाह’को सुटिङका क्रममा अफगानिस्तानका तत्कालीन राष्ट्रपतिले अमिताभको सुरक्षाका लागि अफगानिस्तानका आधा एयर फोर्स पठाएका थिए। उक्त चलचित्र अफगानिस्तानमा अत्यन्तै धेरै हेरिएको मध्ये एक हिन्दी चलचित्र हो।

    – बच्चनको स्मरण शक्ति अत्यन्तै तीक्ष्ण छ। उनी उनका नजिकका आफन्त र साथीभाइका जन्मदिन र विशेष अवसरहरू बिर्संदैनन् र हरेक वर्ष शुभकामना दिइरहन्छन्।

    – अमिताभलाई मनपर्ने अभिनेत्री वाहिदा रहमान हुन्।

    – अमिताभले उनकी हुनेवाला श्रीमती, जया भादुरीलाई पहिलो पटक फिल्म एण्ड टेलिभिजन इन्ष्टिच्युट अफ इण्डिया, पुनामा भेटेका थिए।

    – चर्चित अभिनेताहरू लसेन्स ओलिभर, चार्ली च्याप्लिन र मार्लोन ब्राण्डो जस्तै बीबीसी अनलाइनमार्फत् बच्चन ‘शताब्दी महानायक’ चयन भएका थिए।

    (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]