|

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टी निर्माण गर्ने र भत्काउने प्रक्रियामार्फत राजनीतिक छलाङ मारिरहेका बेला पुराना कम्युनिस्ट नेताहरू भने जहाँको त्यहीँ रहेको बताएका छन्। गणेश साह नेतृत्वको नेकपा संयुक्तसँगको पार्टी एकता भेलामा उनले पुराना कम्युनिस्ट नेताहरू बूढो भइसक्दा पनि सिद्धान्त र पार्टी ढुकेर बसेको भन्दै कटाक्ष गरेका हुन्।

राजनीतिक आन्दोलन र पार्टी निर्माण आफैँ भइहाल्छ भनेर आफू ढुक्कले कहिल्यै नबसेको प्रचण्डको भनाइ थियो। उनले भने, 'मैले पार्टी निर्माण होस् या आन्दोलन निर्माण होस् दुवैमा कहिल्यै पनि घिसिपिटी तरिकाले बौद्ध भिक्षु रहेसम्म घण्टी बजाइराख्ने हो भनेजस्तो विस्तारै गरेर यो अगाडि बढ्छ भन्नेमा कहिल्यै विश्वास गरिनँ।'

पुरानो पार्टी भत्काउने र नयाँ पार्टी गठन गर्ने, त्यस्तै आन्दोलनको पुरानो रूप भत्काउने र नयाँ रूप अवलम्बन गरेकाले अहिलेको परिवर्तन संभव भएको प्रचण्डको भनाइ थियो। उनले राजनीतिमा गरिने प्रयोगले समाजमा नयाँ तरंग ल्याउने र त्यसले मान्छेका दिमागमा नयाँ बहस सृजना गराएर समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने कुरामा सधैँ विश्वास गरेको बताए।

नेकपा एमालेसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन हुँदै पार्टी एकता गर्ने घोषणा गरेका प्रचण्डले पार्टी नेतृत्वमा पुगेको र त्यसलाई विघटन गरेर नयाँ पार्टी गठनका शृंखलाहरू सम्झिए। '२०४६ सालको ऐतिहासिक जनआन्दोनभन्दा अगाडि नेपालका कम्युनिस्ट आन्दोलनका विभिन्न घटकमध्ये एउटा घटक (मसाल)को महामन्त्री बन्ने अवसर प्राप्त भयो, महामन्त्री बनेपछि मेरो काम आफू महामन्त्री भएको पार्टी भत्काउने भयो, एकता केन्द्र बन्यो', उनले भने, 'एकता केन्द्र पाँच वर्ष चलाएपछि मैले माओवादी बनाएँ।' उनले १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएको अनि केही वर्ष एकीकृत माओवादी भएपछि त्यो पनि भत्काएर माओवादी केन्द्र बनाएको उनले बताए।

विश्वमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक भइरहेको बेला नेपालमा भने आक्रामक भएको प्रचण्डको भनाइ थियो। दुई तिहाई जनता कम्युनिस्ट विचारधाराका भएको मौकामा नेपालका ठूला साना कम्युनिस्ट एकतामा गएर एक मात्र पार्टी गठनको प्रक्रियामा गएकाले माओवादी केन्द्र पनि भत्काएर नयाँ पार्टी गठनमा लागेको उनले बताए। उनले भने, 'आजको एकता र अर्को जो एकताको कुरा हुँदै छ (एमालेसँगको) त्यसले माओवादी पनि भत्किँदै छ र अर्को एउटा नयाँ पार्टी र नयाँ शक्ति देशमा पैदा हुँदै छ।'

यति भनिसकेपछि प्रचण्ड आफ्ना राजनीतिक अग्रजहरूलाई व्यंग्य गर्नपट्टि लागे। उनले भने, 'मेरा कतिपय गुरुहरूमध्ये अहिले पनि उही उही पार्टीमा हुनुहुन्छ, ३१ सालकै पार्टीमा।'

दशकौँ पहिले कम्युनिस्ट आन्दोलनको नेतृत्व लिँदा जुन ठाउँमा थिए, ती नेताहरू त्यही ठाउँमा रहेकोमा पुराना नेताहरूप्रति प्रचण्डको गुनासको थियो। 'उहाँहरू बौद्ध भिक्षु जस्तो घण्टी बजाइराख्नुभएको छ', उनले भने, 'न समाजमा कुनै परिवर्तन छ, न जीवनमा कुनै आवेग छ न कुनै आक्रोश छ। उहाँहरू चलिराख्नुभएको छ, चलिराख्नुभएको छ।'

उनले नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेप्रति कटाक्ष गर्दै भने, 'तपाईं हामीले देखेका छौँ कतिपय साथीहरू भक्तपुरमा बस्नुभएको छ, भक्तपुरभन्दा बाहिर हेर्नुहुन्न।' उनले आफ्ना राजनीतिक गुरु मोहनविक्रम सिंहलाई पनि निश्चित क्षेत्रमा मात्रै सीमित रहेकोमा व्यंग्य गर्दै भने, 'कतिपय साथीहरू प्युठानमा हुनुहुन्छ, प्यूठान बाहिर जानुहुन्न।' क्रान्तिकारी माओवादी गठन गरेका मोहन वैद्ध किरणप्रति प्रचण्डको व्यंग्य थियो, 'कतिपय साथी त्यस्तै त्यस्तै हुनुहुन्छ।'

उनले आफू फरक किसिमले चलेको दाबी पनि गरे। 'हामी फरक ढंगले उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति उठ्ने जमर्को गरेका छौँ। नयाँ तरंग र आवेग पैदा गर्दै समाजलाई रूपान्तरण गर्ने एउटा प्रक्रियामा छौँ', उनले भने, 'त्यो प्रक्रियामा एकता पनि एउटा कडी हो भन्ने मैले बुझेको छु।'

यो पनि पढ्नुस् : माओवादीसँग एकतापछि साहले भने- 'पार्टी वेल्डिङ गरियो'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.