|

रूपन्देहीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वाम तालमेलबाट आत्तिनु नपर्ने बताएका छन्। 

बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले वाम तालमेललाई सकारात्मक रूपमा स्वीकार गर्दै प्रजातान्त्रिक शक्तिहरूबीच पनि एकता हुनुपर्ने धारणा राखे। तर उनले अरू दुई राप्रपासँगको एकताबारेको चर्चालाई ‘अनावश्यक’ भने। पार्टी विभाजनको दोष पशुपतिशम्शेर राणालाई दिँदै उनले भने, ‘पशुपतिजीले गम्भीर गल्ती गर्नुभयो, जसले राप्रपा वैकल्पिक शक्तिका रूपमा उभिनबाट चुक्यो।’ 

उनले वाम एकताको विषयमा टिप्पणी गर्ने बेला नभएको बताए। ‘म पार्टी विभाजनको पीडामा छु, वामहरूबीच पार्टी एकता हुनुलाई मैले नकारात्मक मान्न सक्दिनँ’, उनले भने, ‘तर एमाले र माओवादीको एकताको प्रयोजन र प्रभाव हेरेर मात्रै विश्लेषण गर्नुपर्छ, अहिल्यै आत्तिनु र विचलित हुनुपर्दैन।’ 

उनले लोकतान्त्रिक शक्तिबीच तालमेल भए पनि सिट संख्याको विषयमा टुंगो नलागेको बताए। भागवण्डामा आफूले पाएको क्षेत्रमा चुनाव जितेरै छाड्ने उनले दाबी गरे। 

उनले माओवादीले एमालेसँग तालमेल गरेपछि देउवा सरकार धरापमा पर्न सक्ने भएकाले समर्थन गरेको तर्क गरे। माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा सरकार अल्पमतमा परेकाले निर्वाचन गर्नका लागि मात्रै सरकारको समर्थन गरिएको उनले स्पष्ट पारे। अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको बताए। उनले आवश्यकताका आधारमा सरकारमा सहभागी हुन सकिने संभावनासमेत रहने बताए। 

प्रतिनिधिसभाको निर्वाचन सार्न नहुने भन्दै उनले सरकारको सहजताका लागि भने एकै समयमा गर्न सकिने बताए। तर त्यसका लागि सबै राजनीतिक दलको सहमति सरकारले लिनुपर्ने उनको भनाइ थियो। उनले मंसिरमा हुने निर्वाचनसँगै हिन्दू राष्ट्रको विषयमा पनि जनमतसंग्रहसमेत हुनुपर्ने बताए। 

पार्टीको अञ्चल अगुवा कार्यकर्ता भेलामा सहभागी हुन थापा बुधबार रूपन्देही आएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.