|

काठमाडौं : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निश्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुने गरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो। सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनुपरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए। समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आपुर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ।

समितिले निर्माणाधीन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ।

बैठकमा आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एसोसिएसनले कामै नगरेको आयोजना प्रमुख ओम शर्माले समितिलाई जानकारी गराए। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो। यो आयोजना निर्माणका लागि एशियाली विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.