|

काठमाडौं : सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सरकारले सहिद घोषणा गर्ने भएको छ। गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा गोली हानी हत्या गरिएका गौचनको शव यात्रामा सहभागी हुन बिहीबार अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय पुगेका उनले गौचनलाई सहिद घोषणा गर्ने पुनः प्रतिवद्धता जनाएका हुन्। सरकारले बुधबार अपरान्ह सहिद घोषणा गर्नेलगायतका प्रतिवद्धता जनाएपछि अध्यक्ष गौचनको शव महासंघले बुझेको हो।

गृहमन्त्री शर्माले व्यवसायीहरुको सुरक्षा दिने प्रतिवद्धता पनि व्यक्त गरे। उनले सुरक्षित काठमाडौं बनाउने अभियान सुरु गरिएको पनि जानकारी दिए। गृहमन्त्री शर्माले जनशक्ति, प्रविधि र जनतासँगको सम्बन्ध बलियो बनाएर सुरक्षित काठमाडौं बनाउने अभियान सञ्चालनमा ल्याइएको पनि स्मरण गराए। उनले जनशक्तिकै अभावमा काठमाडौंको सुरक्षा व्यवस्था बलियो हुन नसकेको पनि स्वीकार गरे।

मन्त्री शर्माले सुरक्षित काठमाडौं बनाउने अभियानमा साथ दिन पनि सबैमा आग्रह गरे। महासंघले अध्यक्ष गौचनको हत्याको विरोधमा बिहीबार पनि काठमाडौंमा उपत्यकामा एक घण्टा चक्काजाम गरेको थियो भने शुक्रबार देशभरका ठूला राजमार्गमा २ घण्टा चक्का गर्ने कार्यक्रम तय गरेको छ। हत्यारालाई पक्राउ गरी कडा कारवाही नभएसम्म विरोध प्रर्दशन जारी राख्ने महासंघका कार्यबाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.