|

  • रमेश रावल-

कालीकोटः जिल्लाको निकै पछाडि परेको पलाता गाउँपालिकालाई आत्मनिर्भर बनाउन १० वर्षे गुरुयोजना तयार पार्न लागिएको छ। यस गाउँपालिकालाई कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन गुरुयोजना तयार पार्न लागिएको हो।

पलाता गाउँपालिका जिल्लाकै विकट शिक्षा, स्वास्थ्य, रोजगारका अबसरबाट बन्चित भएका कारणले सुन्दर पलता बनाउन गुरुयोजना तयार पार्न लागिएको हो।

कक्षा १२ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ
शिक्षा क्षेत्रमा निकै पछाडि रहेको पलाता गाउँपालिकालाई शिक्षामा गुणस्तर बढाउन कक्षा १२ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ गर्न गुरुयोजना तयार पारिएको छ। यस गुरुयोजनामा सरकारी कर्मचारी, शिक्षक, गाउँपालिका पदाधिकारीहरूका छोराछोरीले अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने र निजी विद्यालयलाई निरुत्साहित गर्ने योजना रहेका छन्।

गाउँमा गरिबका छोराछोरीले कहिल्यै पढ्न नपाउने र पहुँचवालाका छोराछोरी राम्रो विद्यालयमा पढ्न पाउने भएकाले त्यो दूरी हटाउन आफूहरूले नयाँ कार्ययोजना बनाएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘शिक्षामा सबैको पहुँच बराबर बनाउन हामीले कक्षा १ देखि १२ सम्म निःशुल्क अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ गर्ने भएका छौँ’, उनले भने, ‘यसले गाउँमा नै राम्रो र गुणस्तरीय शिक्षा दिने योजना सफल हुने विश्वास छ।’

गुणस्तरीय औषधि गाउँपालिकाबाटै
स्वास्थ्य क्षेत्रमा पनि निकै पछाडि परेको पलाता गाउँपालिकामा सबैलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउन निजी मेडिकलबाट पाउने औषधि गाउँपालिकाबाटै उपलब्ध गराइने भएको छ। गुणस्तरीय औषधि गाउँमा नै उपलब्ध गराउन एक जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा स्वास्थ्य क्षेत्रमा उच्च शिक्षामा पढाउने तयारी गरिएको छ। 

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउन आफूहरूले गाउँपालिकामा गुणस्तरीय औषधि निःशुल्क वितरण गर्नेलगायतका कार्य गर्ने तयारी गरेको अध्यक्ष बमले बताए। ‘स्वास्थ्य क्षेत्रमा गाउँपालिका निकै पछाडि परेको छ। गुणस्तरीय औषधि गाउँपालिकाले नै खरिद गर्ने र निःशुल्क वितरण गर्नेछ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा पढ्न चाहनेलाई प्रत्येक आर्थिक वर्षमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ।’

कृषिमा आत्मनिर्भर बनाउन नयाँ तयारी
सधैँ भोकमरीको मारमा रहेको पलाता गाउँपालिकालाई कृषि आत्मनिर्भर, निर्वाहमुखी कृषि पेशाबाट आयआर्जनमूलक कृषि पेसामा लैजान नयाँ रणनीति पनि तयार पारेको छ। कृषिमा नगदेबाली उत्पादन वृद्धि गरेर गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजना बनाएको हो। 

गाउँपालिकामा सधैँ भोकमरी समस्या हुने गरेको बारीमा लगाएको बालीले वर्षभरि खान नपुग्ने भएकाले त्यसको अन्त्य गर्न नगदे बाली उत्पादन जोड दिने विशेष कार्यक्रम संचालन गरिएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन्। ‘बारीमा लगाएको अन्नबालीले वर्षभरि खान पुग्दैन’, उनले भने, ‘नगदे बाली उत्पादनमा विशेष जोड दिएका छौँ।’

विज्ञहरूको टोली पतालामा
कृषि, सडक, शिक्षा, स्वास्थ्य र आयुर्वेदमा आत्मनिर्भर बनाउन कृषिविज्ञ, शिक्षाविज्ञ, स्वास्थ्यविज्ञ, इन्जिनियर, आयुर्वेदविज्ञहरूको टोलीले पलातामा विगत १५ दिनदेखि गाउँपालिकाका सबै क्षेत्रमा कृषि, औषधि, सिँचाइ, सडकका विषयमा अध्ययन गरिहेको गाउँपालिका अध्यक्ष बमले बताए।

पलातालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर गाउँपालिकाको आग्रहमा अध्ययन गरिरहेको त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी तिलकप्रसाद उपाध्यायले बताए। ‘विज्ञहरूको टोलीले पतालाको कृषि, सडक, शिक्षा, स्वास्थ्य र आयुर्वेदका विषयमा अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘हामीले विभिन्न विषयमा अध्ययन गरेर पलाताको संभाव्यताको रिपोर्ट तयार पारिरहेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.