|

धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले जिल्लाबाट २९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटीमा सिफारिस गरिएको नेकपा एमालेको जिल्ला कमिटीले जनाएको छ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राईको नाम सिफारिस गरिएको छ। स्थानीय तह निर्वाचनमा जिल्लाका सात वटै स्थानीय तहमा पार्टीलाई जिताउन सफल भएपछि राईलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले धनकुटा आएर ‘म्यान अफ दी इलेक्सन’ घोषित गरेका थिए।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ। जसमा चन्द्र बस्नेत, भद्रमान घले, मानबहादुर चेम्जोङ, अर्जुन राई, रेवतबहादुर थापा, हिमा बस्नेत र घुममायाँ राई (सीमा) को नाम सिफारिसमा परेको छ।

प्रदेशसभा अन्तर्गत दुई वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्षतर्फ १ नम्बर निर्वाचन क्षेत्रबाट तीन जना र २ नम्बर निर्वाचन क्षेत्रबाट एक जनाको नाम सिफारिस गरिएको छ। चौबीसे र साँगुरीगढी गाउँपालिकाको पुरै भाग तथा धनकुटा नगरपालिकाका १, ३, ४, ५, ६, ७, ८, ९ र १० वडा तथा सहिदभूमिका १, २, ३, ६ र ७ वडा मिलाएर बनाइएको प्रदेशको १ नम्बर निर्वाचन क्षेत्रमा एमाले धनकुटाका उप–सचिव निरन राई, सचिवालय सदस्य उमेश घिमिरे र १ नम्बर प्रदेश संगठन कमिटी सदस्य तथा सांसद टीकाराम चेम्जोङको नाम सिफारिस भएको छ। जसमधये निरन राईको सम्भावना बलियो रहेको एमाले स्रोतको भनाइ छ।

यस्तै छथर जोरपाटी गाउँपालिका, पाख्रीबास र महालक्ष्मी नगरपालिकाको सबै भूभाग तथा धनकुटा नगरपालिकाको २ नम्बर वडा र सहिदभूमि गाउँपालिकाको ४ र ५ वडा मिलाएर बनाइएको प्रदेशको २ नम्बर निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्यमा एमाले प्रदेश नं. १ का सल्लाहकार सदस्य इन्द्रमणि पराजुलीको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ।

त्यस्तै प्रदेशसभाका लागि समानुपातिकतर्फ १७ जनाको नाम सिफारिस गरिएको छ। जसमा भीमबहादुर राई, नैन विश्वकर्मा, दीपक बुढाथोकी, डिल्लीश्वर दर्नाल, बिनादेवी राई, उठान मादेन, लालचन्द्र गोङवा, सावित्रा राई र भलकमान राईको नाम सिफारिस गरिएको छ।

त्यस्तैगरी देवमान राई, अकलबहादुर माझी, लालकुमार राई, दिलबहादुर आठपहरिया, मनकुमारी तितुङ (तारा), गणेश पिठाकोटे मगर, बिष्णुबहादुर भुजेल र गोविन्द निरौलाको नाम सिफारिस गरिएको छ। दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यक, खसआर्य लगायत क्षेत्रबाट प्रतिनिधित्व गराएर उम्मेदवारको नाम सिफारिस गरिएको एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले जानकारी दिए। जिल्लाका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सुझावका आधारमा जिल्ला कमिटीले उम्मेदवारको नाम प्रदेश संगठन कमिटीमा सिफारिस गरेको हो।

अब प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीको बैठकले असोज मसान्तभित्रमा उम्मेदवारको अन्तिम टुंगो लगाउने एमालेले जनाएको छ। यसैबीच धनकुटा सबैभन्दा ठूलो पार्टी रहेकाले वामपन्थी एकताका आधारमा चुनावी तालमेल धनकुटामा गर्न नहुने पक्षमा एमालेको जिल्ला कमिटी रहेको अध्यक्ष राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.