को हुन् घले, कसको छ समर्थन?

|

काठमाडौं: गैर आवसीय नेपाली संघ (एनआरएन) को आगामी (२०१७-२०१९) कार्यकालका लागि अध्यक्ष पदमा जमुना घले गुरुङले पनि उम्मेदवारी घोषणा गरेकी छन्। आगामी शनिबार काठमाडौंमा सुरु हुने आठौं विश्‍व सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छन्। 

बिहीबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै घलेले आफ्नो उम्मेदवारी महिलाले पनि नेतृत्व गर्न सक्छ भन्ने प्रमाणित गर्न भएको बताइन्। 'अष्ट्रेलिया जस्तो अत्यन्तै प्रतिस्पर्धी समाजमा आफूलाई महिला उद्यमीको रुपमा उभ्याउन सफल भएँ। व्यवसाय वा समाजसेवामा म जहिले पनि आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिले पनि त्यही गरेकी छु' घलेले भनिन् 'मेरो उम्मेदवारी संकिर्ण आँखाले नहेरी एउटा नेपाली नारीले संस्थाको नेतृत्वका लागि लिएको सकारात्मक पहलको रुपमा हेरिदिनु होला।'

उनले आफू विजयी हुँदा एनआरएनले शुरु गरेका ठूला परियोजना समयमै पूरा हुने बताएकी छन्। उनले सन् २००३ देखि सुरु भएको संघमा अहिलेसम्म महिला नेतृत्व नआएकोले पनि आफूले उम्मेदवारी दिएको बताएकी छन्। घलेलाई गुरुङ संघका वर्तमान अध्यक्ष तथा श्रीमान शेष घले, पूर्व अध्यक्ष देवमान हिराचन संघका वर्तमान संरक्षक इन्द्रा वनको समर्थन रहेको छ।

को हुन् घले?

एनआरएनका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुन्। अष्ट्रेलियाकी ११ औँ धनी महिलाको रुपमा आफ्नो पहिचान बनाएकी छन्।

उनी र उनका पति घलेले नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल 'होटल शेराटन'मा लगानी गरेका छन्। त्यस्तै पर्यटन उद्योग, जलविद्युत र स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेका छन्। उनी नेपालमा पहाडी जिल्ला लम्जुङमा जन्मिएकी हुन्।

त्रिपक्षीय प्रतिस्पर्धा

घलेको उम्मेदवारी घोषणासँगै एनआरएको आगामी नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यसअघि भवन भट्ट र टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् भने विहीबार घलेले उम्मेदवारी घोषणा गरेकी हुन्।

भट्ट हालको कार्यसमिति उपाध्यक्ष हुने भने घले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुन्। घले अष्ट्रेलिया, भट्ट जापान र कार्की कतारबाट प्रतिनिधित्व गर्छन्। विश्‍वका ७५ देशमा फैलिएको यो संघमा हाल ६५ हजार सद्सय रहेका छन् भने झण्डै २८ सय जनाले नयाँ नेतृत्वको लागि मतदान गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.