|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन आयोगको व्यस्तता बढेको छ। आयोगले ७७ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। त्यस्तै निर्वाचन अधिकृत नियुक्त गरेर उनीहरुलाई एक चरणको तालिम प्रदान गरेको छ। त्यस्तै मतपत्र छपाइको काम पनि सुरु भइसकेको छ। आयोगले नेपाली सेनाको सुरक्षा घेरामा जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा भक्तपुरमा असोज १७ देखि मतपत्र छपाइ सुरु गरेको छ।

पहिलो चरणमा सातवटै प्रदेशका लागि समानुपातिक तर्फको मतपत्र छपाइको काम धमाधम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिएका छन्। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक पद्धतिका लागि नमुना मतपत्र जारी गरेको छ। जुन मतदाता शिक्षा र नमुना मतदानका लागि प्रयोगमा ल्याइनेछ। 

समानुपातिक तर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले निर्वाचन चिह्न छापिनेछ। जसको सबैभन्दा माथि 'मतपत्र - १ प्रतिनिधिसभा सदस्य निर्वाचन - २०७४, समानुपातिक निर्वाचन प्रणालीको मतपत्र' लेखिएको हुनेछ।  त्यस्तै तल्लो खण्डमा 'मतपत्र - २ प्रदेशसभा सदस्य निर्वाचन, २०७४ समानुपातिक निर्वाचन प्रणालीको मतपत्र' उल्लेख हुनेछ। प्रतिनिधिसभाको मतपत्रमाथि र प्रदेश सभाको मतपत्र तल रहनेछ। 

समानुपातिक तर्फको मतपत्र प्रदेश अनुसार फरक फरक हुनेछ। प्रदेशसभामा सहभागी हुने राजनीतिक दलहरुको संख्या अनुसार मतपत्रको छपाइ सुरु भइसकेको छ। त्यसैले देशभर सात प्रकारका समानुपातिक मतपत्र प्रयोगमा आउनेछन्।

प्रत्यक्षतर्फको मतपत्र पनि निर्वाचन क्षेत्र अनुसार उम्मेदवारको संख्याका आधारमा फरक फरक आकारको हुनेछ। जुन सेतो कागजमा हल्का निलो हरियो मसीले निर्वाचन चिह्न छापिनेछन्। जसको माथिल्लो भागमा 'मतपत्र - १ प्रतिनिधिसभा सदस्य निर्वाचन - २०७४, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र' लेखिएको हुनेछ। त्यस्तै प्रदेशसभाका लागि 'मतपत्र - १ प्रदेशसभा सदस्य निर्वाचन - २०७४, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र' उल्लेख गरिएको हुनेछ। यसमा पनि प्रतिनिधिसभाको मतपत्र माथि र प्रदेश सभाको मतपत्र तल रहनेछ।

  • यस्तो छ प्रत्यक्षतर्फको नमुना मतपत्र:

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको टुंगो लागेपछि मात्रै छाप्न सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। त्यसका लागि पहिलोचरणको मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ भने दोस्रो चरणका लागि कात्तिक १६ गते। प्रत्यक्षतर्फको उम्मेदवार तय भइसक्ने बेलासम्म समानुपातिकका लागि मतपत्र छापिसक्ने र त्यसलगत्तै प्रत्यक्षतर्फका मतपत्र छापिने प्रवक्ता ढकालले जानकारी दिए। आयोगले प्रत्यक्ष र समानुपातिकका लागि ३ करोड ४० लाख मतपत्र छाप्ने जनाएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव चिह्नको क्रम भने हाल व्यवस्थापिका संसदमा रहेका दलहरुले २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याअनुसार रहनेछ। जसको क्रम: कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र राजपाको चुनाव चिह्न रहनेछ।

हेर्नुस् नमुना मतपत्रका फोटोहरु:

प्रदेश नम्बर १ को समानुपातिकको नमुना मतपत्र

प्रदेश नम्बर २ को समानुपातिकको नमुना मतपत्र

प्रदेश नम्बर ३ को समानुपातिकको नमुना मतपत्र

प्रदेश नम्बर ४ को समानुपातिकको नमुना मतपत्र

प्रदेश नम्बर ५ को समानुपातिकको नमुना मतपत्र

प्रदेश नम्बर ६ को समानुपातिकको नमुना मतपत्र

प्रदेश नम्बर ७ को समानुपातिकको नमुना मतपत्र

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.