|

बारा : प्रदेश स्तरीय श्रमिक अस्पताल निर्माणका लागि सरकारी जग्गाको अध्ययन गर्न आएको श्रम तथा रोजगार मन्त्रालयको टोली बिहीबार बारा आइपुगेको छ।

झण्डै पाच सय शैय्याको अस्पताल निर्माणका लागि सम्भावित सरकारी जग्गाको अध्ययन र निरीक्षण गर्नका लागि मन्त्रालयका सह सचिव कृष्ण ज्ञवालीको नेतृत्वमा रहेको टोलीले सिमरा आएको हो।

टोलीले जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलसंग छलफल गरेको छ। सिमरामा भएको भेटका क्रममा टोलीले उपमहानगरभित्र रहेको सरकारी जग्गामा अस्पताल निर्माण गर्न सकिने अवस्था रहे नरहेको बिषयमा जानकारी लिएको थियो। निरीक्षण गरिएकामध्ये केही जग्गामा अस्पताल निर्माण गर्न सक्ने सम्भावना रहेकाले आवश्यक सहयोग गरिदिन टोलीले नगर र विभिन्न ट्रेड युनियनका नेतासंग अनुरोध गरेको थियो।

छलफलका क्रममा सहसचिव ज्ञवालीले पथलैया–वीरगन्ज औद्योगिक करिडोर अन्गर्तत बारा र पर्साका विभिन्न स्थानमा जग्गा निरीक्षण गरेर प्रतिवेदन तयार गरेको र मन्त्रालयमा प्रतिवेदन पेश गरेपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताए।

निरीक्षणका क्रममा मन्त्रालयको टोली औराहमा रहेको औद्योगिक सुरक्षा बल पछाडिको जग्गा अस्पताल निर्माणका लागि बढी उपयुक्त हुने निश्कर्ष निकालेको छ। झण्डै आठ बिगाह क्षेत्रफलमा फैलिने अस्पताललाई पछि मेडिकल कलेजको रुपमा सञ्चालन गर्न सकिने अवधारणाका साथ अघि बढिरहेको ज्ञवालीको भनाइ थियो।

भेटका क्रममा नगरप्रमुख डा. पौडेलले नागरिकको स्वास्थ्यसंग जोडिएको अस्पताल निर्माणका लागि उपमहानगरले उच्च प्राथमिकतामा राख्ने बताए। मन्त्रालयबाट आएको टोलीलाई आश्वस्त पार्दै नगर प्रमुख डा. पौडेलले श्रम मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्राचार गरेर प्रक्रिया अघि बढाउन टोलीलाई अनुरोध गर्दै अस्पताल निर्माणका लागि उपमहानगरले सहयोग गर्ने बताए।

उपमहानगरभित्र अस्पताल बनाउन सके उपमहानगरसंगै यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा पाउने र समृद्ध उपमहानगरका लागि अर्को बलियो आधार स्थापित हुने प्रमुख डा. पौडेलको भनाइ छ।

भेटका क्रममा ट्रेड युनियनका नेतृत्वले पनि बिशेष आर्थिक क्षेत्रमा पर्ने आद्योगिक सुरक्षा बल नजिकैको खाली जग्गामा अस्पताल निर्माण गर्न सकिने निकर्ष निकाल्दै मन्त्रालयको टोलीको ध्यानाकर्षण गराएका छन्।

भेटका क्रममा श्रम मन्त्रालयका उपसचिव सुजन जोजिजु, उपमहानगरका कार्यकारी अधिकृत डिल्लीराज बेल्वासे, जिफन्ट सचिव दिनेश राई, अन्टुफ उपमहासचिव मिनप्रसाद आपागाई, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश २ का अध्यक्ष अमृतलाल जोशीलगायत विभिन्न ट्रेड युनियनका केन्द्रीय, प्रदेश र जिल्ला स्तरीय नेता सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.