|

लहान : सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले विश्व दृष्टि दिवस २०१७ को अवसरमा बिहीबारदेखि थप दशौं शाखा सञ्चालन गरेको छ।

दिवसको अवसर पारेर महोत्तरीको बर्दिवास नगरपालिका १ मा स्थापना गरिएको आँखा उपचार केन्द्रमा बिहीबार पहिलो दिन नै ५६ जना आँखाका बिरामीहरुको जाँच गरिएको अस्पतालका प्रबन्धक अभिषेक रोसनले जानकारी दिए।  

सवा दुई लाख आँखा बिरामीको जाँच

स्थानीय तीन चौधरी परिवारले सात बिघा १० धुर जग्गा उपलब्ध गराएपछि सन् १९८३ देखि जर्मनीस्थित क्रिष्टोफर ब्लाइण्ड मिसनको सहयोगमा सञ्चालन हुँदै आएको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सन् २०१७ को सेप्टेम्बरसम्म दुई लाख २४ हजार आँखाका बिरामीको जाँच र उपचार गरिसकेको प्रबन्धक रोसनले बताए। प्रबन्धक रोसनका अनुसार सस्तो र गुणस्तरीय आँखा उपचार हुने भएकाले उक्त संख्यामा भारतीय आँखाका बिरामीको संख्या बढी रहेको छ।

पछिल्लो नौ महिनाको अवधिमा नेपालसहित भारतका विभिन्न प्रान्तबाट आएका ३९ हजार आँखाका बिरामीको शल्यक्रिया गरिसकेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आँखा जाँचका लागि भारतको आन्ध्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तिसगढ, दिल्ली, गुजरात, हरियाणा, हिमाञ्चल, झारखण्ड, कर्णाटक, मध्यप्रदेश, महाराष्ट्र, मेघालय, नागाल्याण्ड, उडिसाका बिरामीहरु आउने गरेका छन्।

‘प्रविधिमा अगाडि भए पनि प्रायः दक्षिण भारतमा मात्र केन्द्रित रहेका आँखा अस्पताल र उपचार केन्द्रहरुमा गरिब, निमुखा, असहायहरु महँगो शुल्कले जानै सक्दैनन्’ प्रबन्धक रोसनले भने ‘अस्पतालमा दैनिक रुपमा जाँचिने आँखाका रोगीमध्ये करिब ९० प्रतिशत भारतीयहरु हुने गर्दछन्।’

दस ठाउँमा उपचार केन्द्र

शल्यक्रिया र जटिल उपचार सेवा बाहेक अन्य उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउन अस्पतालले पूर्वी पहाड र तराइका छ जिल्लाका १० ठाउँमा उपचार केन्द्र स्थापना गरी सेवा दिइरहेको छ। अस्पतालले खोटाङको दिक्तेल, हलेसी, उदयपुरको गाईघाट र कटारी, सिरहाको मिर्चैया र सिरहा सदरमुकाम, सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र बर्दिवास तथा सर्लाहीको मलंगवामा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ।

त्यसका अतिरिक्त उपचार केन्द्रसम्म आउन नसक्ने आँखाका बिरामीहरुका लागि स्थानीय सामुदायिक संस्थासँगको सहकार्यमा गाउँमै शिविर गर्ने र थप उपचार गर्नु पर्ने बिरामीहलाई अस्पतालकै खर्चमा शल्यक्रियासहितको सेवा दिंदै आएको छ। अस्पताले आगामी सन् २०१८ को जनवरीदेखि आँखाको कोर्निया प्रत्यारोपणसहितको सेवा सुचारु गर्ने तयारी गरिरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.