|

काठमाडौँः बिहीबार अपराह्न साढे चार बजे ललितपुरको पुल्चोकस्थित नाम्लो रेष्टुरेन्टमा अचम्मको दृश्य देखियो। राप्ती अञ्चल र खासगरी दाङलाई कर्मथलो बनाएर राजनीति गरिरहेका दलका नेता एकएक गर्दै रेष्टुरेन्टमा रहेको कार्यक्रम हलभित्र जम्मा भइरहेका थिए। 

जम्मा हुनेहरूमा नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक रेखा शर्मालगायत थिए। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ व्यवस्थापिका संसदबाट पारित भएको उपलक्ष्यमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आयोजना गरेको चियापान कार्यक्रममा दाङका मुख्य राजनीतिक दलका नेताहरू एउटै मञ्चमा बस्ने मेसो मिलेको थियो। 

‘पार्लियामेन्टमा बिल पास गर्न धेरै संयोगहरू मिल्नुपर्छ। मेरो कार्यकालमा मैले गर्व गर्नलायक दुई बिलहरू पास गर्न सकेँ’, मन्त्री पोख्रेलले भने, ‘यो कुराले म आनन्दले निदाउन सकेको छु।’ कार्यक्रममा विशेष रूपमा आमन्त्रित स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले राप्तीका जनताको सक्रियतामा प्रतिष्ठान गठन हुन सकेको भन्दै आफ्नो कार्यकालकै गर्व गर्नलायक कामको रूपमा यो विधेयक पारित भएकोे बताए। ‘बीमासम्बन्धी विल पनि पास भएको छ’, उनले भने।

कार्यक्रममा निकै प्रशन्न मुद्रामा देखिएका मन्त्री पोख्रेलले प्रतिष्ठानसम्बन्धी विधेयक पास गर्न अहोरात्र काम गरेको भन्दै दाङका माओवादी नेता तथा उपप्रधानमन्त्री महरा र राप्तीका जनतालाई बधाई दिए। 

सरकारी अस्पताललाई रूपान्तरण नगर्ने हो भने संविधान र कानुनमा जे लेखे पनि फरक नपर्ने भन्दै उनले जनशक्ति, औषधि, उपकरण, पूर्वाधार र समुदायको स्वामित्व भयो भने मात्र सरकारी अस्पतालको स्तर कायम हुने धारणा राखे। राप्तीको नमुना संस्थाको रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन सुझाव दिँदै मन्त्री पोखरेलले सरकारी बजेटको मुख नताकी स्थानीयस्तरबाटै आत्मनिर्भर भएर अगाडि बढाउन राप्तीवासीलाई आग्रह गरे। 

कार्यक्रमका मुख्य आयोजक उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कार्यक्रमलाई संवोधन गर्दै भने, ‘१० वर्षदेखि मैले देखेको सपना पूरा हुनै लागेको छ। राप्तीवासीको समृद्धिका लागि हामी सबै मिलेर लागौँ। समृद्धि संभव छ।’

‘दाङमा सरकारी मेडिकल कलेज बनाउनुपर्छ भन्ने सोच आएपछि निरन्तर नेतृत्वदायी भूमिकामा लागिरहेका छौँ’, उनले भने, ‘सुरुमा कलेजको अवधारणामा हामी अघि बढे यो स्वायत्त नहुने र मन्त्रालयको कोपभाजनमा पर्ने खतरा देखेर मैले नै प्रस्ताव गरेर प्रतिष्ठानको अवधारणा अघि बढाएका हौँ, यसमा दाङका सबै सभासदहरूले समर्थन जनाउनुभयो र अहिले विधेयक पारित हुने अवस्थामा पुगेको छ। यो दाङ, राप्ती र पश्चिम नेपालकै गौरवको विषय हो।’

संसदबाट विधेयक पारित भइसकेको अवस्थामा यसलाई भौतिक रूपमा सम्पन्न बनाएर काम सुरु गर्ने चुनौती थपिएकाले यसको नेतृत्व गर्न आफू तयार रहेको बताउँदै मन्त्री महराले आफू पटक पटक जनप्रतिनिधि बनेको भए पनि यस पटक एउटा गौरव गर्नलायक काम गर्न सकिएको महसुस भएको अभिव्यक्ति दिए। 

कार्यक्रममा सभामुख ओनसरी घर्ती मगर, कांग्रेसका सचेतक ईश्वरी न्यौपाने, एमाले सचेतक गोकुल घर्ती मगर, सांसद राजु खनाल, अनिता देवकोटा, नेकपा एमालेका दाङ अध्यक्ष टीकाराम खड्का, जनमोर्चाकी सांसद दुर्गा पौडेल, सांसदहरू रुक्मिणी चौधरी, गंगा सत्गौंवा, माओवादी केन्द्रका दाङ इन्चार्ज जीवन गौतमलगायत दर्जन बढी नेताहरू सहभागी थिए। 

माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले राप्ती क्षेत्रको विकासका लागि आफूहरू अहोरात्र लागेको बताइन्। दाङलाई प्रदेशको राजधानी बनाउनका लागि कार्यदलले सिफारिस गरिसकेको भन्दै शर्माले व्यवस्थापिका संसदबाट यो विषय पारित गर्न उत्तिकै गम्भीर रहेको बताइन्। राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले राप्ती उपक्षेत्रीय अस्पतालले नेपाल संस्कृत विश्वविद्यालयको नियति भोग्नु नपरोस् भन्ने कमना गरे। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ गत असोज २४ गते व्यवस्थापिका संसदबाट पारित भएकोे थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.