|

काठमाडौं : दलहरूले प्रदेशसभा निर्वाचनका लागि अलगअलग प्रदेशअनुसार समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने भएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कसरी समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने भन्ने अलमल कायम रहेका बेला आयोगले जारी गरेको निर्देशिकाअनुसार दलहरूले फरकफरक प्रदेशअनुसार आफ्नो दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची पेस गर्नुपर्ने भएको हो।

दलहरूले प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी कुल २ सय २० जनाको अधिकतम बन्दसूची पेश गर्न सक्नेछन्। यस्तै सातै प्रदेशमा गरी न्यूनतम २६ जनाको सूची पेश गर्न सकिनेछ ।

प्रदेश १ मा ४, प्रदेश २ मा ५, प्रदेश ३ मा पाँच, प्रदेश ४ मा तीन, प्रदेश ५ मा चार, प्रदेश ६ मा दुई र प्रदेश ७ मा कम्तीमा तीन जनाको बन्दसूची समानुपातिकतर्फ पेस गर्नुपर्ने भएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले दलहरूले आफ्नो अवस्थाका आधारमा अधिकतम र न्यूनतम संख्यालाई ख्याल गरेर प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्दसूची पेश गर्न सक्ने बताए ।प्रदेशसभाका लागि देशभर ३ सय ३० निर्वाचन क्षेत्र कायम भएको छ।

प्रदेशको निर्वाचनतर्फ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हरेक निर्वाचन क्षेत्रबाट एक जनाका दरले ३ सय ३० जना प्रदेश सांसद निर्वाचित हुनेछन भने सो संख्याको ४० प्रतिशत सांसद समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन्। यसरी निर्वाचित हुने सांसद २ सय २० जना हुनेछन्।

प्रतिनिधिसभा निर्वाचनका लागि कायम कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा २८, प्रदेश २ मा ३२, प्रदेश ३ मा ३३, प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ निर्वाचन क्षेत्र कायम भएको छ ।

तर प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि भने प्रदेश १ मा ५६, प्रदेश २ मा ६४, प्रदेश ३ मा ६६, प्रदेश ४ मा ३६, प्रदेश ५ मा ५२, प्रदेश ६ मा २४ र प्रदेश ७ मा ३२ गरी कुल ३ सय ३० क्षेत्र कायम छ।

तर प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन क्षेत्र ३ सय ३० को ४० प्रतिशत संख्या समानुपातिकतर्फ निर्वाचित हुनेछन्। यसरी निर्वाचित हुँदा प्रदेशसभामा समानुपातिकतर्फ २ सय २० सांसद निर्वाचित हुनेछन्।

दलहरूले प्रत्येक प्रदेशका लागि सम्बन्धित प्रदेशअनुसार नै समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुन २ सय २० जनाको बन्दसूची पेश गर्नुपर्नेछ।
दलहरूले प्रदेशसभाका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीमा नामावली पेस गर्दा आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी, मुस्लिम, अपांगता भएका, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। यसरी बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला भने अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.