|

बैतडी : जिल्लामा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन्। रकम अभाव, व्यवस्थापनको कमजोरी र उपभोक्ताको बेवास्ताका कारण आयोजना बन्द भइरहेका हुन्।

केही आयोजना भने लामो समयदेखि निर्माण सम्पन्न नहुदै अलपत्र अवस्थामा छोडिएका छन्। पञ्चेश्वर गाउँपालिका २ मा एक लघुजलविद्युत योजना ६ वर्षदेखि अलपत्र छ। गरिविनिवारण कोषको आर्थिक, प्रवाधिक सहयोग र स्थानियको जनश्रमदानमा सञ्चालित योजना आर्थिक र पानीको समस्याले अलपत्र परेको छ ।

०६८ सालमा मटेलागाड लघुजलविद्युत योजनाका नामले समिति गठन गरी काम सञ्चालन गरेको संस्थाले नहर निर्माण र सरसमान समेत खरिद गरिसकेको छ। पञ्चेश्वर गाउँपालिका–२ का मटेला टोलका ५५ घरधुरी र एक स्कुललाई पर्याप्त विद्युत् पुग्ने प्राविधिक दृष्टिकोणले देखाएको थियो। 

मूल नहरमा पानीको क्षमता नाप्दा ५ किलोवाट विद्युत् उत्पादन हुने देखिएपछि ५ किलोवाट क्षमता राखिएको थियो तर सो आयोजनाले नहर कच्ची र लामो भई पावरहाउससम्म पानी थोरै पुग्ने देखेपछि  विद्युत निर्माण नहुने भन्दै बाँकी काम गर्न छोडेको स्थानीयको भनाइ छ। 

सर्भे गर्दा प्राविधिकले १२५ एमएम पानी आवश्यक देखिएको थियो। मूलमा १२५ एमएम पानी भए पनि नहर कच्ची र लामो भएकाले  मुलको पानी विद्युतगृह सम्म ५० एमएम मात्रै पुग्ने भएकाले योजानाको काम रोकिएको मटेलागाड जलविद्युत योजनाका अध्यक्ष वीरबहादुर चन्दको भनाइ छ। ‘सुरुमा प्राविधिकहरुले सही तरिकाले रिपार्ट नदिँदा हामीले धोका पायौ,’ उनले भने, अहिले काम सुरु गर्न सक्ने अवस्था छैन।'

निर्माण सामग्री योजनास्थलमा अलपत्र

साढे १९ लाख बजेट लाग्ने अनुमानित गरेको संस्थाले सबै रकम समितिको खातामा जम्मा गरिसकेको छ। समितिले भने ६० प्रतिशत काम भइसकेको र सोहीअनुसार रकम खर्च गरिसकेको बताएको छ। योजना स्थलमा नहर निर्माणदेखि लिएर विद्युत निर्माणका लागि आवश्यक पर्ने सरसमान खरिद र ढुवानी गरिसकेको छ। किनेको सरसमान गोदाम अभावका कारण योजनास्थलमै अलपत्र अवस्थामा छोडिएको छ। घामपानीका कारण मेसिन र पोल खियाले काम नलाग्ने अवस्थामा पुगेका छन्। 

लघुजलविद्युत् निर्माण भएर गाउँ झिलीमिली होला भन्ने आशा गरेका स्थानियमा अहिले निराशा छाएको छ। योजना सम्पन्न गर्नका लागि स्थानीय तहले पनि पहल नगरेको सर्वसाधारणको गुनासो छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.