सडक मर्मत नहुँदा रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय समस्यामा

|

  • मनोज भट्टराई-

 रामेछापः सम्बन्धित निकायको लापरबाहीले रामेछाप जिल्लाको ग्रामीण क्षेत्रका सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। जिल्लाको ग्रामीण सडक उपभोक्ता समिति र यातायात व्यवसायीको लापरबाहीले लामो समयसम्म पनि मर्मत हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका हुन्। रामेछापको सदरमुकाम मन्‍थलीदेखि पहाडी जिल्ला ओखलढुंगा र सोलुखुम्बु जाने सडक हिलाम्मे हुँदा यात्रु समस्यामा परेका हुन्।

सडक हिलाम्मे हुँदा यात्रु त समस्यामा छन् नै,  अर्कोतर्फ जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य सामानसमेत ढुवानीमा हुन नसक्दा स्थानीय समस्यामा परेको नेकपा माओवादी केन्द्र रामेछापका सचिवालय सदस्य रवीन्द्र पौडेलले बताए। उनले खाद्यान्न समयमा पुर्‍याउन नसक्दा उपभोग्य सामग्रीको मूल्यसमेत आकाशिएको बताए।

यो सडक रामेछाप,ओखलढुंगा र सोलुखुम्बुवासीको साझा समस्याका रूपमा रहेको उनको भनाइ छ। उनले भने,‘सडक मर्मत नहुँदा रामेछापका मात्र होइन, सोलुखुम्बु र ओखलढुंगाका स्थानीय पनि समस्यामा परेका छन्। त्यसैले सडक तत्काल मर्मत गर्न जरुरी छ।’

ग्रामीण सडकको मर्मत कार्यमा नेपाल सरकार, सडक विभाग तथा स्थानीय निकायले चासो नदेखाउँदा समस्या भएको उनले बताए। सडक मर्मत नहुँदा तीन घण्टाको यात्रा गर्न एक दिन लाग्ने गरेको यात्रुहरुको गुनासो छ।

सडक हिलाम्मे भएका कारण सवारी जताततै फस्ने गरेकाले समस्यामा परेको ओखलढुंगास्थित लिखु गाउँपालिका-६ का कृष्णकुमार भट्टराईको दुखेसो छ। ‘चार घण्टाको बाटो यात्रा गर्न सडककै कारण एकदिन पूरै लाग्छ, यस्तो कष्ट हामीले कहिलेसम्म भोग्ने?’,उनले प्रश्न गरे।

रामोछापको सिरिसे ढाँडेदेखि मन्थलीसम्मको २६ किलोमिटर कच्ची सडकमा यात्रा गर्न एक दिनभरि लाग्ने गरेको लिखु गाउँपालिका-८ का छत्रबहादुर बिष्टले बताए। उनले भने,‘समयमा गन्तव्‍यमा पुगेर काम गरी फर्कर्ने योजना बनाएका हुन्छौँ तर, बिहान घरबाट हिँड्यो भने बाटोमै दिनभरी लाग्छ।’

रामेछापका सडक मर्मत मात्र बर्सेनि लाखौँ रकम खर्च भए पनि  सडकको स्तरोन्नति नभएको उमाकुण्ड गाउँपालिका कुँबुकाँ सतलीका स्थानीय विष्णुबहादुर कार्कीले बताए। यता, सडक डिभिजन कार्यालय खुर्कोटले भने उक्त सडक मर्ममतको जिम्मा आफूहरुले नपाएकाले सडक आफूहरुले मर्मत नगरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.