|

गोरखा : नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले तालमेल गरेपछि गठबन्धनबाट गोरखामा को को उम्मेदवार भन्ने विषय राष्ट्रिय चर्चाको विषय बनेको छ। प्रतिनिधि सभाको दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा दुबै सिटमा माओवादी केन्द्रले दावी गरेपछि नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई संकटमा परेका छन्।

माओवादी केन्द्रले गठबन्धनबाट भट्टराईलाई गोरखामा उम्मेदवार बन्न नदिने प्रयास गरेपछि भट्टराईले बरु गठबन्धन नै तोडेर भए पनि गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिने प्रतिक्रिया दिएका छन्। आफ्नो घर भएको निर्वाचन क्षेत्र गोरखा २ बाट उनले उम्मेदवारी दिने पहिल्यै घोषणा गरेका थिए।

तर एमाले र माओवादी केन्द्रबीच गोरखाको प्रतिनिधि सभाको दुबै निर्वाचन क्षेत्र माओवादी केन्द्रले नै पाउने सहमति भइसकेको स्रोतको भनाइ छ। त्यस अनुसार गोरखा २ बाट माओवादीले नेता नारायणकाजी श्रेष्ठलाई अघि सारेको छ।

माओवादी केन्द्रले गोरखा क्षेत्र नं. २ मा डा. भट्टराईलाई उम्मेदवार बन्न नदिने बताएपछि उनले चुनाव लड्न बरु गठबन्धन नै छोड्ने चेतावनी दिएका छन्।  ‘तालमेल र एकीकरणको विषयमा सहमति हुँदामा नै मैले क्षेत्र नं. २ मा उम्मेदवारी दिने भनिएको थियो’ भट्टराईले थाहाखबरसँग भने ‘त्यसैमाथि मलाई गोरखामा चुनाव लड्न कसैले टिकट दिनुपर्दैन। गोरखाली जनताले मलाई विश्वास गर्छन्। मैले सुरु गरेका विकासका कामहरु पूरा गर्ने अवसर गोरखालीले दिनेमा पनि म ढुक्क छु। तालमेलमा मलाई स्वीकार्य भएन भने नयाँ शक्तिबाटै मेरो उम्मेदवारी गोरखा २ बाट हुनेछ।’

भट्टराईले आफू प्रधानमन्त्री र अर्थमन्त्री हुँदा गोरखामा गरेको विकास निर्माणको कामका कारण मतदाताले आफूलाई रोज्ने विश्वास पनि व्यक्त गरेका छन्। ‘गोरखाबासीको चाहना र आफ्नो रूची, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने रहेकाले म गोरखा क्षेत्र नं. २ बाटै उमेद्वार हुने पक्का छ’ उनले भने।

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले तालमेल अनुसार गोरखा २ मा आफूनै उम्मेदवार भएको तर्क गरे। ‘माओवादी केन्द्रबाट मेरो नाम निर्विरोध रुपमा सिफारिस भएको छ। एमालेले पनि मलाई नै सहमति गरेको छ’ टेलिफोन सम्पर्कमा श्रेष्ठले भने ‘भट्टराईजीको स्थान समानुपातिकलाई स्वीकार्नु सुरक्षित छ। उहाँलाई सांसद बनाउन हुन्न भन्नेमा माओवादी केन्द्र छैन। तर अहिले उहाँलाई गोरखा बाहेकका क्षेत्र खुल्ला छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.