|

काठमाडौं : उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न खोज्ने विद्यार्थी र शिक्षा मन्त्रालयका कर्मचारीबीच शुक्रबार झडप भएको छ।

शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै आएका विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुले शिक्षा मन्त्रालयमा मन्त्रीलाई कालोमोसो दल्न खोजेपछि कर्मचारीसँग झडप भएको हो।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट्न गएका विद्यार्थीहरुले कालोमोसो दल्न खोजेको थाहा पाएपछि कर्मचारीसँग धकेलाधकेल र झडप भएको हो। पछि उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो। विद्यार्थीहरुले मन्त्रीकै चेम्बरमा राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

अस्थायी शिक्षकलाई स्वत: स्थायी गर्ने प्रावधानसहित शिक्षा ऐनको नवौं संशोधन पारित गर्न भूमिका निर्वाह गरेकाले मन्त्रीको विरोध गरेको एमाले निकट अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए। 'उहाँले शिक्षा क्षेत्र अन्धकारमा राख्ने प्रपञ्च गर्नुभयो र सीटीईभीटीभिको बेथिती र शैक्षिक सत्रको बीचमा अनेकौं चलखेलबाट २५ वटा कलेजलाई सम्बन्धन दिने निर्णय गर्नुभयो, हामीले यसमा विरोध जनाएका छौं' उनले भने।

शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै आएका विद्यार्थी संगठनहरुको संयुक्त विद्यार्थी संघर्ष समितिले विधेयक खारेज गर्न तयार नभएको भन्दै शिक्षा मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्। 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू, माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी लगायतका नौं विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले विधेयक खारेज नगरेसम्म शिक्षा मन्त्री श्रेष्ठलाई बहिस्कार गर्नेसम्मको आन्दोलनको कार्यक्रम तय गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.