|

काठमाडौं : गैर आवसीय नेपाली संघ (एनआरएन) को आठौं विश्‍व सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदैछ। सम्मेलन मार्फत नयाँ नेतृत्व छनोट गर्नका लागि संसारका विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरु काठमाडौं आएका छन्।

सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु चयन गर्नेछ। ९ पदाधिकारीका लागि २० भन्दा बढीले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनका सदस्यता रहेको ७८ देशबाट एक जना समन्वय परिषदको सदस्य निर्वाचित हुनेछन्। त्यस्तै विभिन्न महादेशको संयोजक र उपसंयोजकमा पनि प्रतिस्पर्धा हुने देखिएको छ। नयाँ नेतृत्व चयनका लागि झण्डै २८ सय जनाले मतदान गर्नेछन्। हाल एनआरएनको सदस्यता ६५ हजार जनाले लिएका छन्।

अध्यक्षमा तीन प्रतिस्पर्धी

एनआरएन अध्यक्षको लागि तीन जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्षका लागि जापानमा बसोबास गर्ने भवन भट्ट, अष्ट्रेलियाकी जमुना गुरुङ घले र कतारका टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।

भवन भट्ट वर्तमान उपाध्यक्ष हुन् भने घले आईसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद) सदस्य हुन्। त्यस्तै कार्की अघिल्लो कार्यसमितिका उपाध्यक्ष हुन्। अहिले तिनैजना उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न क्रियाशील छन्।

उपाध्यक्षमा धेरैको दावी

एक महिलासहित तीन जना उपाध्यक्षको लागि ९ जनाले दावी गरेका छन्। खुल्ला दुई जना उपाध्यक्षको लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। जर्मनमा बसोबार गर्ने पन्तले यसअघि अध्यक्षका दावी गरे पनि सहमतिको लागि भन्दै उपाध्यक्षमै दोहोर्‍याउने बताएका छन्।

उपाध्यक्षमा नै बेल्जियममा बसोबास गर्ने सोम सापकोटा र जापानका चिरञ्जवी थापाले पनि उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै  कुल आचार्य, सोनाम लामा, खगेन्द्र जीसी र पुष्प थापाले पनि उपाध्यक्षमा दावी गरेका छन्।

एक जना महिला उपाध्यक्षको लागि सिपिला राजभण्डारी र रञ्जु थापा वाग्लेले पनि उम्मेदवारी घोषणा गरेका छन्। वाग्ले अहिलेकी कार्यसमितिकी प्रवक्ता समेत हुन्।

महसचिवमा तीन प्रतिस्पर्धी

महासचिवमा वर्तमान महासचिव बद्री केसीले पुन उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै हङकङका त्रिलोक केसी र अर्जुन श्रेष्ठले पनि महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै दुई जना सचिवको लागि हालसम्म चार जनाले दावी गरेका छन्। जसमा सन्तोष भट्टराई, डिवी क्षेत्री, गणेश केसी र महेन्द्र लामा रहेका छन्। त्यस्तै कोषाध्यक्षको लागि हिक्मत थापा र मछुत्रे गुरुङले दावी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.