|

भबिन कार्की-

    संखुवासभा : जिल्लाको उत्तरी क्षेत्र अरुण नदीपारिको गाउँपालिकामा गाडी गुड्ने सडकमा खच्चडबाट  समान ढुवानी हुने गरेको छ। दुर्गमको शिलिचोङ गाउँपालिकाका अधिकांश वडा सडक सञ्जालले छोए पनि अरुण नदीमा पुल नबन्दा अरुणपारिका नागरिक मारमा परेका छन्।

    ‘यस गाउँपालिकामा सडक सञ्जाल विस्तार त भयो तर अरुणमा पुलनै छैन सवारीसाधन कसरी आउँछ?’ शिलिचोङ–३ का उमेश चाम्लिङले भने, ‘सडक भएर के गर्नु सामान ल्याउन खच्चड प्रयोग गर्नुपर्छ।’

    यस क्षेत्रमा समान ढुवानी गर्न खच्चड नभए मानिसले पिठ्युमा भारी बोकेर ९/१० घन्टा हिँडेर ढुवानीको साधन बन्न बाध्य हुनुपर्ने बाध्यता रहेको चाम्लिङले बताए। गाडी चढ्ने रहरले लाखौँ खर्चेर खनिए पनि सडक खच्चड र मानिसलाई मात्र पैदल आवतजावतमा प्रयोग हुने गरेको छ।

    खाँदबारीबाट करिब १६ कोस टाढा रहेको शिलिचोङ गाउँपालिका पुग्न अरुण नदी पार गर्नुको विकल्प छैन। त्यसका लागि अरुण नदीमा पुल निर्माण गर्नु अनिवार्य रहेको सो क्षेत्रका सञ्चारकर्मी ध्यान कुलुङ बताउँछन्।

    करिब २० हजार जनसंख्या रहेको शिलिचोङ गाउँपालिकामा मात्र होइन, अरुण नदीमा पुल बन्न नसकेकै कारण भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पा शिलुछो गाउँपालिकाको बुम्लीङटार हुँदै कुलुङ, चौकी डाँडा, दोभाने हुँदै खनिएको सडक पनि प्रयोगमा आउन सकेको छैन।

    खाँदबारी नगरपालिका–१० हेलुवा बेंसीसम्म कच्ची सडकमार्फत सवारीसाधन पुगेका छन् भने झोलुंगे पुलबाट अरुण नदी पार गरेपछि भने सवारीसाधनमार्फत यात्रा गर्न पाइँदैन। अरुण नदीपारिकोे सडकमा सवारीसाधन तार्न नसकेको कारण समस्या भएको स्थानीय बताउँछन्।

    भोजपुरको बुम्लीङटार हुँदै शिलिचोङ गाउँपालिका अन्तर्गतका वडा नम्बर-४ मांतेवा र वडा नम्बर-३ ताम्कुलाई सडक सञ्जालले छोइसकेको छ। वडा नम्बर १ शिसुवाखोला र २ नम्बर वडा पनि छिट्टै सडक सञ्जालमा जोडिनेछ।    

    कुनै विकल्पबाट सवारी तार्न नसके पुल बनिसक्दासम्म हाल खोलिएको ट्रयाकको निसानासमेत हराइसक्ने स्थानीय सन्तोष कुलुङ बताउँछन्। खोलिएका सडकलाई तत्काल प्रयोगमा ल्याउन नसके बाढी र पहिरोले ट्रयाक नै बगाइसक्ने स्थानीय बताउँछन्।

    त्यसो त त्यस क्षेत्रका जननिर्वाचित प्रतिनिधि गाउँपालिका प्रमुख राम कुलुङ आफू विजयी भएदेखि नै पुल निर्माणको पहलमा लागेको बताउँछन्।

    उनी भन्छन्, ‘पुल निर्माणका लागि जिल्ला समन्वय समिति, प्राविधिक कार्यालय, स्थानीय विकास मन्त्रालय, सडक कार्यालय र विभाग सबैतिर पहल गरिरहेको छु।’ पुल निर्माण प्रक्रिया तत्काल अघि बढाए पनि सम्पन्न हुन लामो समय लाग्ने भएकोले पुलको वैकल्पिक व्यवस्थाको रुपमा तत्कालका लागि फेरि सञ्चालका लागि आवश्यक प्रक्रिया सुरु गरिएको उनले बताए।

    एक वर्षअघि अरुण नदीमा पुल निर्माणको लागि सर्भे गरेर विभाग पठाए पनि हालसम्म केही उपलब्धि नभएको जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर रामशरण आचार्यले बताए। पुल निर्माणको लागि छुट्टाछुटै दुई वटा डिजाइन नक्सा पठाइसकेको आचार्यले बताए। विभागबाट डिजाइन पास भएर आए तत्काल निर्माण प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ। 

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.