|

काठमाडौं : नेपाल टेलिकमले १९७ नम्बरबाट दिँदै आएको सोधपुछ सेवा शुक्रबारदेखि नयाँ संरचनामा सञ्चालन गरेको छ। त्यस्तै वायरलाइन ग्राहक सेवाका लागि १९८ र जीएसएम र सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरबाट प्रदान गर्दै आएको गुनासो तथा सोधपुछ सेवा पनि नयाँ संरचनामा सञ्चालन गरेको छ।

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा केन्द्रको शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गरे। टेलिकमले हालसम्म टेलिफोनबाट मात्र दिइरहेको गुनासो सुनुवाई तथा ग्राहक सेवा छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याटको माध्यमबाट समेत दिने प्रवक्ता प्रतिभा वैद्यले विज्ञप्ति मार्फत जानकारी दिएकी छन्।

त्यसैगरी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाहरुको जवाफ पनि आगामी दिनमा यही केन्द्रमार्फत उपलब्ध गराउने  व्यवस्था गरिने टेलिकमले जनाएको छ। नयाँ संरचनामा टेलिकमको सेवा शुभारम्भ गर्दै राज्यमन्त्री विष्टले ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताए।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू विविध किसिमका चुनौतीहरु पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न ग्राहक सेवा केन्द्रले सहयोग पुर्‍याउने बताए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन्।

वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले यस प्रकारको सेवा पहिलेदेखि नै सञ्चालन गरिएको भए पनि हाल नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.