|

ढाका : म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ। गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

यससँगै बङ्गलादेश पुगेका शरणार्थीहरुको संख्या ५ लाख ३६ हजार पुगेको बिहीबार संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले जानकारी दिए। 

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यानले शुक्रबार रोहिंग्या शरणार्थीको विषयमा म्यानमारका अधिकारीहरुसँग भेटवार्ता गर्ने जानकारी राष्ट्रसंघले दिएको छ।

उपमहासचिव जेफ्री आउँदो मङ्गलबारसम्म म्यानमारमा रहने र यस विषयमा आवश्यक परामर्श गर्ने जानकारी प्रवक्ता हकले दिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गरिरहेका छन्।

द्वन्द्व अन्त्य भएको खण्डमा शरणार्थीहरु आफ्नो देश फर्किन पाउने भएकोले सो वातावरण निर्माणमा संयुक्त राष्ट्रसंघ लाग्ने गुथ्रेसले बताएका छन्।

म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन्। सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाइ छ। तर म्यानमार सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ। 

बङ्गलादेशको कोक्सबजार र अन्य क्षेत्रमा रहेका शिविरहरुमा ती शरणार्थीहरु बस्दै आएका छन्। उनीहरुलाई खाना र आवश्यक आधारभूत आवश्यकताको पनि पूर्ति हुन सकिरहेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.