|

विराटनगर : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जस्तोसुकै चुनौतीको सामाना गरेर भएपनि निर्धारित समयमै सम्पन्न हुने बताएका छन्। विराटनगरमा शुक्रबार तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेटको उद्घाटन गर्दै उनले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष गम्भीर रुपमा लाग्नुपर्ने धारणा राखे।

स्थानीय तहको निर्वाचन जस्तै संघीय र प्रदेश सभाको निर्वाचन पनि ठूलो उत्सवका साथ सम्पन्न हुने उनको भनाइ थियो। तोकिएकै समयमा निर्वाचन भए संविधान कार्यन्वयनले सुखद रुपमा पूर्णता पाउने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरे।

संघ र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबै पक्षलाई आग्रह गर्दै उपराष्ट्रपति पुनले निर्वाचनमा सहभागी भई आफ्नो सार्वभौम अधिकारको सदुपयोग गर्न नागरिकहरुलाइ आग्रह गरे। उपराष्ट्रपति पुनले ज्याम्बोरेटमा स्काउटर बालबालिकाहरुले प्रदर्शनी गर्ने विभिन्न पहिचानयुक्त खेलहरुले अनेकतामा एकता कायम गरी भाइचाराको विकास गर्न ठूलो मद्दत मिल्ने बताए। भोलिको राष्ट्र निमार्णको शक्ति आजको युवाहरु नै भएको बताउदै उपराष्ट्रपति पुनले जीवन उपयोगी तथा जनमुखी शिक्षाबाट युवाहरुलाई शिक्षित बनाउनुपर्नेमा जोड दिए।

आउँदो असोज ३० गतेसम्म सञ्चालन हुने ज्याम्बोरेटको विभिन्न जिल्लाहरुमा करिब ३ हजार स्काउटर ११ वर्ष देखि १६ वर्षउमेर समूहका बालवालिकाहरुको सहभागि रहेको छ। पाँच दिनसम्म उनीहरुले ४० वटा विभिन्न क्रियाकलापहरुमा भाग लिने कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिए।

नेपाल सरकारले स्काउटलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०७२÷०७३  मा नेपालको सबै विद्यालयमा स्काउट इकाइ र प्रत्येक निर्वाचन क्षेत्रमा १/१ वटा रोबर रेन्जर सञ्चालनलाई तिब्रता दिन जरुरी रहेको उपराष्ट्रपति पुनले औल्याए। यो प्रभावकारी रुपमा सञ्चालन भए स्काउटरको संख्यामा वृद्धि आउने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.